‘काङ्ग्रेसभित्र बलियो एकता भए कुनै पनि शक्तिले परास्त गर्न सक्दैन’
दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेसभित्र बलियो एकता हुन सके पार्टीलाई कुनै शक्तिले परास्त गर्न नसक्ने बताउनुभएको छ ।

कांग्रेस दाङले आज घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले त्यसका लागि पार्टीभित्र बलियो एकता जरुरी रहेकाले एकढिक्का हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । “हामी मिले कसैले हराउन सक्दैन, त्यसकारण पार्टीभित्र एकता हुन जरुरी छ । पार्टीभित्र बलियो एकता कायम हुन सके कुनै निर्वाचनमा काँग्रेसलाई कसैले हराउन सक्दैन”, सभापति देउवाले भन्नुभयो,“पार्टीलाई बलियो बनाउन विकासका काममा समेत कांग्रेसका नेता तथा कार्यकर्ताहरू एकजुट भएर लाग्न आवश्यक छ ।”
यसैगरी उहाँले दाङमा रहेको विमानस्थलको स्तर वृद्धि अपरिहार्य रहेको भन्दै तुलसीपुरमा रहेको विमानस्थल स्तर वृद्धिका लागि समेत विज्ञहरूसँग परामर्श तथा प्रधानमन्त्रीसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “दाङमा ठूला जहाज उडानका लागि यहाँको विमानस्थललाई विस्तार गर्न जरुरी छ । यो दाङको आवश्यकता हो । यस कार्यमा मैले पनि पहल गर्नेछु”, उहाँले भन्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्