तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ शक्तिलाई मूलधारमा लैजान्छौँ : संयोजक डा भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा बाबुराम भट्टराईले महाधिवेशनमार्फत नयाँ शक्तिलाई जोडेर मूल धारमा लैजाने बाटो तय गर्ने बताउनुभएको छ । 

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले देशलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन नयाँ वैकल्पिक राजनीतिक शक्तिहरूबीच ध्रुवीकरण जरुरी रहेको खाँचो औँल्याउनुभयो । “महाधिवेशनले नयाँ राजनीतिक शक्तिहरूलाई जोडेर मूल धारमा लैजाने बाटो तय गर्नेछ”, डा भट्टराईले भन्नुभयो, “नयाँ युगमा नयाँ वैकल्पिक राजनीतिक शक्तिहरूबीच गोलमेच सम्मेलन र विचार विमर्श हुन जरुरी छ ।”

पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता भट्टराईले वैकल्पिक शक्तिहरूलाई मिलाएर रूपान्तरणकारी राजनीतिक यात्राका लागि नीति, विचार र सङ्गठनसहितको अभियान थालनी गरिने उल्लेख गर्नुभयो । 

महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तादेवमा नयाँ युगको नयाँ विचार र वैकल्पिक राजनीतिको औचित्य पुष्टि गर्दै डिजिटल प्रविधि र एआई प्रविधिसहित आगामी यात्रा तय गर्ने उहाँको दाबी छ ।

डा भट्टराईको राजनीतिक दस्तादेवमा आर्थिक समृद्धिको मुद्दालाई पहिलो नम्बरमा राखिएको छ । देशको विकास र समृद्धि नहुनाका कारण निरपेक्ष गरिबी, आर्थिक समस्यालाई दस्ताबेजले किटान गरेको छ । देशभित्र रोजगारी सिर्जना गर्ने वातावरण बनाउने, युवा पलायन रोक्ने र जनताको सहभागितामा मुलुकको विकास र समृद्धिको यात्रा तय गर्ने दस्ताबेजमा भनिएको छ ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का कार्यवाहक सभापति डिपी अर्यालले वैकल्पिक शक्तिहरूको सहकार्यबाट राष्ट्रिय समृद्धिको आकांक्षा पूरा गराउनेतर्फ सबै सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले परम्परागत राजनीतिक अभ्यासमा आमूल परिवर्तन गरी नवीनतम नीति र प्रविधिको अवलम्बन गर्दै नयाँ वैकल्पिक राजनीतिक शक्तिको स्थापना जरुरी भएको खाँचो औँल्याउनुभयो ।

जनमत पार्टीका अध्यक्ष डा सिके राउतले नयाँ वैकल्पिक राजनीतिक शक्तिहरूको ध्रुवीकरणमार्फत देशलाई नयाँ दिशामा अगाडि बढाउन जरुरी भएको बताउनुभयो । “नयाँ पार्टीका साझा चुनौती भनेको पार्टी स्थापित र विचारको संरक्षण हो, राजनीतिमा युवालाई प्रोत्साह गर्दै नयाँ विचार स्थापित गरेर देशलाई निकास दिन जरुरी छ”, उहाँले भन्नुभयो ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले मुलुकको विकास र आर्थिक समृद्धिका लागि वैकल्पिक शक्तिहरू एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले वैकल्पिक शक्तिलाई मूल धारमा ल्याउने गरी गोलमेच सम्मेलन गरेर देशको बृहत्तर हितमा सहकार्यको बाटो पहिल्यानुपर्ने बताउनुभयो ।

यही २९ गतेसम्म हुने महाअधिवेशनमा एक हजार पाँच समय प्रतिनिधिले भाग लिने महाधिवेशन व्यवस्थापन समितिका संयोजक हिसिला यमीले जानकारी दिनुभयो । 

महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने जनाइएको छ ।

–––

प्रतिक्रिया राख्नुहोस्

Back to top button