तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा मिनी ट्रक दुर्घटना : १९ खसी-बोका च्यापिएर मरे

नारायणगढ । बस दुर्घटनामा २५ जना घाइते भएको दुई घण्टा नहुँदै चितवनमा पुनः मिनी ट्रक दुर्घटना भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार आइतबार बिहान ६:३० बजे मिनी ट्रक अनियन्त्रित भएर सडकमा पल्टिएको हो। इच्छाकामना गाउँपालिका–४ लेवाटार नजिकै बर्दियाबाट काठमाडौँतर्फ खसी र बोका लिएर जान लागेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक पल्टिएको हो।

ट्रकमा रहेका १४३ वटा खसी र बोका मध्ये १९ वटा च्यापिएर मरेको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो। दुर्घटनामा मानवीय क्षति भएको छैन।

यसअघि आइतबार बिहानै नारायणगढ-मुग्लिन सडकको सेतिदोभानमा भएको बस दुर्घटनामा २५ जना घाइते भएका थिए। घाइतेको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ, जहाँ दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button