तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चारकर्मी समिरको कथा सङ्ग्रह ‘मुना–मदनको डिभोर्स पार्टी’ सार्वजनिक

काठमाडौँ ।  नेपाल टेलिभिजनका कार्यकारी निर्माता एवम् सञ्चारकर्मी दिपक समिरद्वारा लिखित कथा सङ्ग्रह ‘मुना–मदनको डिभोर्स पार्टी’ सार्वजनिक भएको छ ।

काठमाडौँमा आज आयोजित एक कार्यक्रमकाबीच समिरको पहिलो कथा सङ्ग्रहको विमोचन गरिएको हो ।

सो अवसरमा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा.महेन्द्र बिष्टले समिरको कथा सङ्ग्रहले वर्तमान समाजको बिम्ब उतारिएको अनुभूति गराउने बताउनुभयो । उहाँले कथा सङ्ग्रहमा कविता, निबन्ध र गीतको समेत संयोजनले पुस्तकलाई थप पठनीय बनाएको र कथा सङ्ग्रहमा समेटिएका विषय बस्तुले समाजलाई सचेत बनाउन सहयोग पुग्ने बताउनुभयो ।

सार्वजनिक सेवा प्रसारण सञ्चालक समिति सदस्य फूलमान बल तामाङले कथा सङ्ग्रहमा भूत, वर्तमान र भविष्यको संयोजन गरिएको बताउनुभयो । अति यथार्थवादी कल्पनाशीलताको प्रयोग गरिएका कारण कथामा नयाँ आयाम थपिएको भन्दै उहाँले आजको विसङ्गत समाजलाई पर्दाफास गर्न कथा सङ्ग्रह सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

कथा सङ्ग्रहको समीक्षा गर्दै प्राध्यापक तथा समालोचक डा.गीता त्रिपाठीले कथा ‘इतिहास’ र ‘वर्तमान’लाई जोड्ने पुल बनेको बताउनुभयो। कथा सङ्ग्रहमा रहेको ‘नवराज विकको भ्यालेन्टाइन डे’ शीर्षकको कथाले रुकुम हत्या काण्डमा मारिएका नवराज विकलाई समेटेको भन्दै उहाँले कथा सङ्ग्रह नेपालको सामाजिक परिवेश र समाजको पीँधमा पारिएको वर्गहरूप्रति लक्षित रहेको बताउनुभयो ।

नेपाल टेलिभिजनका प्रमुख कार्यकारी निर्माता एवम् साहित्यकार टंक उप्रेतीले समाजमा नदेखिएका विषयलाई सूक्ष्म तरिकाले अध्ययन गरि कथा लेखेको भन्दै कथाकार समिरको सृजनशीलता, नविनताको प्रशंसा गर्नुभयो ।

सञ्चारकर्मी समिरले आफ्नो कर्मथलो रेडियो र टेलिभिजन नै कथा सङ्ग्रहको पृष्ठभूमि भएको बताउनुभयो । 

इन्डिगो इन्कद्वारा प्रकाशित कथा सङ्ग्रहमा विभिन्न शीर्षकका १४ वटा कथाहरू समावेश गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button