तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका किसान हिउँदे मकै खेतीतर्फ आकर्षित

बाँके । बाँकेका किसानहरू पछिल्लो समय हिउँदे मकै खेतीतर्फ आकर्षित भएका छन्। 

हरियो मकैको माग बढ्दै जानु, उचित मूल्य प्राप्त हुनु तथा यसबाट राम्रो आम्दानी हुनसक्ने सम्भावना देखेर किसानहरू व्यावसायिक रूपमा मकै खेतीतर्फ आकर्षित भएका हुन्।

बाँकेमा सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिका, नेपालगञ्ज उपमहानगरपालिका–२३, र डुडुवा गाउँपालिका र बैजनाथ गाउँपालिकामा हिउँदे मकै खेती भइरहेको छ। 

विशेषगरी डुडुवा गाउँपालिका–६ हिरमिनिया, भंघोटना, कालाबञ्जर, पहाडियनपुरवा, बकौली, अहिरापुर, महन्तरपुरवा, बल्दीपुरवा लगायतका गाउँहरूमा किसानहरूले व्यापक रूपमा मकै खेती गरिरहेका छन्।

नेपालगञ्ज उपमहानगरपालिका–२३ को भज्जुपुरवा र जंगलीपुरवा क्षेत्रमा समेत किसानहरूले हिउँदे मकै लगाएका छन्। कृषक जयपाल मौर्यका अनुसार बाँकेका किसानहरू व्यावसायिक रूपमा हिउँदे मकै खेतीतर्फ आकर्षित हुँदै गएका छन्, किनकि हरियो मकैको बजार मूल्य राम्रो पाइन्छ र सहजै बिक्री हुने भएकाले  यसलाई नगदे बालीका रूपमा लिइएको छ।

स्थानीय कृषक रामबहादुर यादवका अनुसार, बाँकेमा हिउँदे मकै लगाउने प्रवृत्ति बढिरहेको छ। “हिउँदे मकै राम्ररी उत्पादन गर्न सके, बजारमा हरियो मकैको राम्रो मूल्य पाइन्छ। फागुन–चैतमा बिक्री गर्दा हामीले प्रतिकिलो राम्रो मूल्य पाउँछौँ, जसले किसानहरूलाई हौसाएको छ।”, उहाँले भन्नुभयो

यस्तै, अर्का कृषक धनराज चौधरीका अनुसार, हिउँदे मकै खेतीले खेतीयोग्य जमिनको उपयोगिता बढाउनुका साथै उत्पादन लागत कम गर्ने फाइदा दिएको छ। “हिउँदे मकै खेती गर्दा सिँचाइ, मल र राम्रो व्यवस्थापन गर्न सके आम्दानी राम्रो हुन्छ। अहिलेको उत्पादन प्रवृत्तिलाई हेर्दा बाँकेमा व्यावसायिक मकै खेतीको सम्भावना बढ्दो छ।” , उहाँले भन्नुभयो । 

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी अनिश श्रेष्ठका अनुसार, यस वर्ष बाँकेमा ९५ हेक्टर क्षेत्रफलमा हिउँदे मकै खेती गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा २३ हेक्टरले बढी हो। 

गत वर्ष ७२ हेक्टरमा मात्र हिउँदे मकै खेती गरिएको थियो, जसबाट २३७ मेट्रिक टन उत्पादन भएको थियो।

”गत वर्ष मकै उत्पादन प्रतिहेक्टर ३ दशमलव २९ मेट्रिक टन रहेको थियो। यस वर्ष भने क्रप कटिङ नहुँदासम्म उत्पादनको यकिन तथ्याङ्क निकाल्न सकिएको छैन” सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो।

कृषि विज्ञहरूका अनुसार, हिउँदे मकै खेतीलाई अझ प्रविधिमैत्री बनाएमा किसानहरूको आम्दानी थप वृद्धि गर्न सकिन्छ। किसानहरूले उचित समयमा सिँचाइ, मलखाद व्यवस्थापन तथा कीट नियन्त्रण गरेमा उत्पादन अझ राम्रो हुने बताइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button