‘मौलिक कला संस्कृतिलाई समुदायको आयआर्जनसँग जोड्न जरुरी’
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले परम्परागत मौलिक कला संस्कृति संरक्षण गर्दै त्यसलाई समुदायको आयआर्जनसँग जोड्नुपर्ने बताउनुभएको छ ।

अन्तरप्रदेश स्तरीय थारु सांस्कृतिक सम्मेलनको दाको चखौरामा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले थारु समुदायको मौलिक कला, संस्कृति संरक्षण गर्दै त्यसलाई आर्थिक आम्दानीसँग जोड्न आवश्यक रहेको बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले थारु समुदायको प्रत्येक क्षेत्रमा प्रतिनिधित्व सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । निजामती सेवामा थारु समुदायको १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको जानकारी गराउँदै उहाँले लोकसेवा आयोगले गर्ने विज्ञापनमा दरखास्त दिएर सहभागी हुन आह्वान गर्नुभयो ।
स्थानीय मदिराको बजारीकरणका लागि संघीय सरकारले कानुन नबनाउँदा समस्या उत्पन्न भएको उल्लेख गर्दै उहाँले वर्तमान संसद्बाट विधेयक पारित गरेर भएपनि समस्या समाधान गर्न आग्रह गर्नुभयो । थारु समुदाय लगायत आदिवासी जनजातिले परम्परागत रूपमा उत्पादन गर्दै आएको स्थानीय मदिरालाई बजारसँग जोड्न प्रदेश सरकारले प्राथमिकता दिएको भए पनि संघीय सरकारबाट कानुनी व्यवस्था नहुँदा ब्रान्डिङ र लेबलिङमा समस्या देखिएको मुख्यमन्त्री आचार्यले बताउनुभयो ।
प्रदेश सरकारले थारु समुदाय लगायत अन्य समुदायले मनाउने माघ पर्वलाई सम्मानस्वरूप उत्सवका रूपमा मनाउँदै आएको उहाँले स्मरण गराउनुभयो । संशोधनका क्रममा मुख्यमन्त्री आचार्यले संघीय सरकारले गत वर्ष समानीकरण अनुदान नपठाउँदा प्रदेश सरकार आर्थिक भारमा परेको बताउँदै समस्या समाधान गर्न आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्