तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल स्काउटको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल स्काउटले व्यक्तित्वको विकाससँगै असल नागरिक भएर मुलुकको सेवामा समर्पित भएर काम गरि रहेको बताउनुभएको छ । 

कोशी प्रदेश स्तरीय विराटनगरमा शुरु भएको स्काउटको भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले केही स्वार्थी समूहले समाजलाई गलत बाटोमा लैजाने दुष्प्रयास गरिरहेकाले त्यसका विरुद्ध नेपाल स्काउटले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । 

संविधानमा उल्लेख भए अनुसार असल र सुयोग्य नागरिक बनाउने परिकल्पनालाई पुरा गर्न स्काउटले साधकको रुपमा काम गर्नुपर्ने उहाँको भनाई थियो ।

कोशी प्रदेशका १ सय ३७ वटा पालिकाका ११ सय ३७ वटा वडा र सबै विद्यालयमा नेपाल स्काउटको विस्तार हुनु आवश्यक रहेको उहाँको भनाई थियो ।

कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले असल मान्छे नभएसम्म असल समाज निर्माण नहुने भएकाले समाजको सामाजिक आर्थिक र बौद्धिक विकासमा नेपाल स्काउट केन्द्रित हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा विराटनगर महानगरपालिका उप–मेयर शिल्पा निराला कार्की, सामाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङ तथा नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले नेपाल स्काउटको महत्त्वमाथि चर्चा गर्नुभएको थियो ।

तिन दिनसम्म चल्ने भेलामा कोशी प्रदेशका ६७ वटा पालिका तथा विभिन्न विद्यालयका २५ सय स्काउट विद्यार्थीहरूको सहभागिता छ । भेलामा स्काउट सम्बन्ध विभिन्न क्रियाकलापको आयोजना हुने जनाइएको छ ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button