समाजवाद निर्माणको मुख्य आधार कृषि : अध्यक्ष प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको आधार निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले स्थानीय सरकारको रणनीतिक महत्वलाई आत्मसात गरेर उत्पादनका निमित्त सङ्घर्ष, वैज्ञानिक प्रयोग र सांस्कृतिक रूपान्तरणमा जोड दिने नीति लिएको बताउनुभयो ।
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र विकासको मूल आधार कृषि उत्पादनमा वृद्धि र कृषिमा आधारित औद्योगिकीकरणकाे नीति अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब स्थानीय तहदेखि नै कृषि उत्पादनमा वृद्धि र औद्योगिकीकरणकाे मौलिक बाटो समात्नुपर्ने बताउनुभयो ।
आफ्नो पार्टीबाट जितेका पालिकाका जनप्रतिनिधिहरूलाई राष्ट्रिय भेला गरेर स्थानीय तहमा समाजवादको अभ्याससम्बन्धी प्रशिक्षण दिने कार्यक्रम बनाइएको पनि उहाँले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको बजेट बनाउँदा आफूहरूले कृषिलाई बेस (आधार) र सूचना प्रविधिलाई लिड (नेतृत्व)को रुपमा स्थापित गरेको जानकारी दिँदै पूर्व प्रधानमन्त्री प्रचण्डले अहिलेको सरकारले त्यो बजेटलाई तोडमोड गरेकोमा आपत्ति जनाउनुभयो । किसान महासङ्घले आधारभूत रूपमा सही बजेट र नीति तथा कार्यक्रम कार्यान्वयनका लागि भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।
आफूले राजनीतिको सुरुवात किसान सङ्घबाटै गरेको स्मरण गराउँदै उहाँले यो सङ्गठनलाई किसानको घर र खेतबारीसम्म पुर्याउनुपर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले फागुन १२ गतेदेखि हुने तराई मधेशकेन्द्रित हुलाकी र पूर्वपश्चिम राजमार्ग तथा वैशाखमा हुने मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान सफल बनाउन किसान महासङ्घलाई निर्देशन दिनुभयो ।
बैठकमा अध्यक्ष चित्रबहादुर श्रेष्ठले संक्षिप्त प्रतिवेदन पेस भएको थियो भने कार्यक्रम सञ्चालन महासचिव नहेन्द्र खड्काले गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्