छैँठौ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नरैनापुरमा सुरु

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा छैँठौ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नरैनापुर गाउँपालिकामा रहेको रंगशाला मैदानमा आज बिहीबारबाट सुरु भएको प्रतियोगितामा गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभएको छ ।
उद्घाटन गर्दै अध्यक्ष शाहले खेल क्षेत्रको विकास र नयाँ प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विद्यालयस्तरमा खेल पूर्वाधारको विकासका लागि आफूले विशेष बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
उहाँले विद्यार्थीलाई अनुशासित बनाउन समेत खेलकुदले सिकाउने बताउँदै खेलाडीहरूले समाज, राष्ट्रका लागि योगदान गर्न सक्ने भएकाले विद्यार्थी उमेरदेखि नै खेलकुदमा सक्रिय हुन अध्यक्ष शाहले अपिल गर्नु भयो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत पहिलो दिन १५ सय मिटर दौड, सटपुट लगायतका खेल सम्पन्न भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण चौधरीले जानकारी दिनुभयो ।
प्रतियोगिता अवधिभर छात्र–छात्रा भलिबल, एथलेटिक्सतर्फ एक सय, दुई सय, चार सय, आठ सय र तीन हजार मिटर दौड प्रतियोगिता हुने उहाँले जानकारी दिनुभयो ।
त्यस्तै हाइजम्प, सटपुट लगायतका खेलहरू गरी कुल १३ खेल समावेश गरिएको उहाँले बताउनुभयो । प्रतियोगितामा गाउँपालिका भरिका ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष शाह, शिक्षा शाखा प्रमुख चौधरी, वडा नं २ का अध्यक्ष मसुद अहमद शाह, पालिका खेलकुद बिकास समिति संयोजक इन्द्र बहादुर यादव, शिक्षा शाखाका प्राविधिक कमल केसी लगायतको उपस्थितिमा प्रतियोगिताको उद्घाटन गरिएको थियो । कार्यक्रम शनिबार समापन हुने प्राविधिक कमल केसीले जानकारी दिनु भयो । कार्यक्रममा शिक्षिका र विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए ।










प्रतिक्रिया राख्नुहोस्