पर्साबाट बर्षेनी बिदेसिनेको सङ्ख्यामा वृद्धि
बीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साबाट चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो ६ महिनामा मात्रै ३ हजार ७ सय ७१ जनाले राहदानी (पासपोर्ट) प्राप्त गरेका छन् ।
तीमध्ये सबैभन्दा बढी पुस महिनामा ९ सय २३ जनाले राहदानी लिएका छन् भने मङ्सिर महिनामा सबैभन्दा कम २ सय ३५ जनालाई राहदानी वितरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार चालु आर्थिक वर्षमा पर्साबाट राहदानी लिनेको सङ्ख्यामा क्रमिक वृद्धि हुँदै गएको छ ।
साउनदेखि पुससम्मको विवरण हेर्दा साउनमा ६९०, भदौमा ७१०, असोजमा ५५६, कार्तिकमा ६५७, मंसिरमा २३५ तथा पुष महिनामा ९२३ जनाले राहदानी लिएका छन् ।
गत आर्थिक वर्ष २०८०÷८१ मा पर्सा जिल्लाबाट ८ हजार ४ सय १३ वटा राहदानी वितरण भएका थिए भने २०७९/८० मा यो सङ्ख्या १० हजार २० पुगेको थियो । २०७८÷७९ मा ५ हजार १सय ७३ जनाले राहदानी लिएका थिए ।
पर्सा जिल्लामा राहदानी सिफारिसमार्फत राज्यले ठूलो मात्रामा राजस्व सङ्कलन गर्ने गरेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मात्रै जिल्ला प्रशासन कार्यालय पर्साले २ करोड २ लाख ९९ हजार ९ सय रुपैयाँ राजस्व सङ्कलन गरिसकेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा २ करोड ३७ लाख ६२ हजार ५ सय रुपैयाँ सङ्कलन भएको थियो भने २०७९/८० मा राजस्व असुली बढेर ५ करोड २७ लाख ६१ हजार ५ सय रुपैयाँ पुगेको थियो । यद्यपि, आर्थिक वर्ष २०८०/८१ मा भने ४ करोड ३० लाख ५५ हजार रुपैयाँ सङ्कलन भएको तथ्याङ्कमा उल्लेख छ ।
पर्साबाट राहदानी लिने नागरिकको सङ्ख्या वर्षेनी बढ्दै गएको देखिन्छ । पछिल्लो तथ्याङ्कले पर्साबाट समेत वैदेशिक रोजगारी तथा अध्ययनका लागि विदेश जाने नागरिकहरूको सख्या बर्षोनि बढ्दै गएको छ ।
विशेषगरी, पुष महिनामा राहदानीको माग उच्च हुनुले वैदेशिक रोजगारीका लागि नयाँ वर्षको सुरुवातसँगै आवेदन बढ्ने गरेको तथ्याङ्कले पुष्टि गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्