भ्रष्टाचार बिरुद्ध शून्य सहनशीलताको नीति : मुख्यमन्त्री आचार्य
रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिएको बताउनुभएकाे छ ।
बुद्धभूमि जेसीजको सातौं पद हस्तान्तरण कार्यक्रमको उद्घाटन सत्रमा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले विधिको शासन कायम राख्न र भ्रष्टाचारको अन्त्य गर्न शून्य सहनशीलताको नीति अपनाइएको जानकारी दिनुभएकाे हाे । उहाँले भन्नुभयाे, “यो मुलुक बनाउने भनेको तपाई हामीले नै हो, बाहिरका मान्छे आएर मुलुक बनाउने होइन। इमानदारीका साथ लाग्यौं भने मुलुक बनाउन सकिन्छ।”
उहाँले हालका दिनहरूमा निराशा फैलाउने कुप्रचार र आलोचनाको पनि प्रतिक्रिया जनाउँदै भन्नुभयाे, “अहिले केही भएन भनेर एक जमातले कुप्रचार गरेका छन् र निरासाको खेती गर्न थालेका छन्। यस्ता निराशा फैलाउने कामलाई निरुत्साहित गर्ने जिम्मेवारी हामी सबैको हो।”
मुख्यमन्त्री आचार्यले युवा पुस्तालाई देशमा सम्भावना देख्न आह्वान गर्दै भन्नुभयाे, “सरकारले स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्न तीन तहका सरकारको तर्फबाट काम गरिरहेको छ र निजी क्षेत्रले पनि यसमा योगदान दिएको छ।”
सरकारले सेवा प्रवाहलाई चुस्त बनाउन नीतिगत सुधार पनि गरिसकेको र सुशासन, जवाफदेहीता र भ्रष्टाचार बिरुद्धका अभियानमा नागरिकस्तरबाट सहभागीता जनाउन आह्वान गरेको उहाँले बताउनुभयाे। “फजुल खर्च रोक्न र पूर्व विशेष व्यक्तिका सेवा सुविधाहरू खारेज गरेर सरकार अघि बढेको छ। योजना चयन र कार्यान्वयनमा देखिएका विकृतिहरू रोक्न पनि सरकार निर्मतापूर्वक अघि बढेको छ,” उहाँले थप्नुभयाे।
मुख्यमन्त्री आचार्यले सबैको साथमा मिलेर मुलुक बनाउने कुरामा विश्वास व्यक्त गर्दै भन्नुभयेा, “यी अभियानमा पनि सरकारले सबैको साथ खोजेको छ। तपाई हामी सबै मिलेर मुलुक बनाउन सक्छौं।”
प्रतिक्रिया राख्नुहोस्