तपाईँ सुन्दै हुनुहुन्छः

पिएसबीको अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अगाडि बढ्छौँ: डा. विष्ट

काठमाडौँ । संविधानसभाबाट नेपालको संविधान (२०७२) जारी भएसँगै गठित सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिको सिफारिसबमोजिम राष्ट्रिय आमसञ्चार नीति, २०७३ जारी भएको थियो। यस नीतिमा सार्वजनिक सेवा प्रसारणको स्थापना गरी रेडियो नेपाल र नेपाल टेलिभिजनलाई रुपान्तरण गर्ने व्यवस्था समेटिएको थियो। २०८१ भदौ ३१ गते सङ्घीय संसद्बाट पारित सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक २०८१ असोज २२ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि, ऐनको व्यवस्थाबमोजिम सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएको हो। यस अवसरमा नेपाल टेलिभिजनको ४० औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टसँग राष्ट्रिय समाचार समितिले लिएको अन्तर्वार्ता प्रस्तुत छ:

नेपाल टेलिभिजनको स्थापनाको ४० औं वार्षिकोत्सवको अवसरमा यसको उद्देश्य र भूमिका के थियो?

नेपाल टेलिभिजन नेपालको पहिलो टेलिभिजन प्रसारण संस्थाको रूपमा स्थापना भएको थियो। २०४१ सालमा यसको स्थापना भएको बेला यसले उच्चतम प्रविधिको प्रयोग गर्दै रङ्गीन टेलिभिजनको रुपमा शुरूवात गरेको थियो। त्यस समयको प्रसारण विषयवस्तु र नेपालको विकासको परिप्रेक्ष्यमा धेरै सान्दर्भिक थियो। २०४६ सालको जनआन्दोलनपछि नेपाल टेलिभिजनले प्रजातन्त्रको सस्थागत गर्ने क्रममा राष्ट्रिय एकता र भिन्न-भिन्न क्षेत्रका जनतालाई संबोधन गर्ने प्रयास गरेको थियो। आजको संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा यो संस्थाले थप फराकिलो दायरा कायम गरेको छ। अब यसलाई सार्वजनिक सेवा प्रसारणको रूपमा रूपान्तरण गरिएको छ।

पिएसबीका रूपमा नेपाल टेलिभिजनको रुपान्तरणपछि तपाईंले यसलाई कसरी अगाडि बढाउनुहुन्छ?

सार्वजनिक सेवा प्रसारणका आधारभूत सिद्धान्तहरू विश्वव्यापी रूपमा लामो समयदेखि अभ्यासमा आएका छन्। पिएसबीले राजनीतिक तटस्थता कायम राख्ने, व्यापारिक स्वार्थबाट मुक्त रहन्छ र यसले केवल राज्यको दायित्व पालन गर्ने उद्देश्य राख्छ। हाम्रो प्रयास यही छ कि नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजनिक सेवा प्रसारणका संस्थाका रूपमा अघि बढाउँदै, राष्ट्रका प्रमुख मुद्दाहरूलाई प्राथमिकतामा राखेर, राष्ट्रिय एकता, विपद् व्यवस्थापन र समृद्धि जस्ता महत्वपूर्ण क्षेत्रलाई समेट्ने कार्यक्रम प्रस्तुत गर्ने छौँ।

पिएसबीको कार्यान्वयनका लागि तपाईंको योजना के छ?

हामीले पिएसबीको बारेमा स्पष्टता ल्याउने काम शुरु गरेका छौँ। समाचार, कार्यक्रम, इञ्जिनियरिङ, प्रशासन र आर्थिक क्षेत्रका पुनः अभिमुखीकरण गर्दै अगाडि बढ्ने तयारी गरिरहेका छौँ। पिएसबीको प्राथमिकतामा रहेको तीन प्रमुख विषय— राष्ट्रिय एकता, विपद् र समृद्धि—लाई आधार बनाएर हामीले कार्यक्रमहरू निर्माण गर्ने योजना बनाएका छौँ। साथै, हामीले पिएसबीको कार्यान्वयनका लागि विभिन्न समूहहरूको छलफल पनि सम्पन्न गरेका छौँ जसले हाम्रो कार्यलाई अझ स्पष्ट र सशक्त बनाउने छ।

पिएसबीको आर्थिक व्यवस्थापन र स्रोतको कुरा के छ?

पिएसबीको सञ्चालनका लागि विश्वभर विभिन्न मोडेल प्रयोग हुँदै आएका छन्। हामीले हाइब्रिड मोडलमा पिएसबीलाई सञ्चालन गर्ने परिकल्पना गरेका छौँ जसमा राज्यको कोष, बाह्य सहयोग र आन्तरिक आम्दानी सबैको समावेश हुनेछ। यसले संस्थाको आर्थिक स्थिरता र दिगोपनामा मद्दत पुर्याउने छ।

नेपाल टेलिभिजनको भविष्यमा विस्तार र एनटिभी वल्र्ड च्यानलको अवस्था के छ?

हामी रेडियो प्रसारण, टेलिभिजन प्रसारण र डिजिटल प्लेटफर्मलाई समानांतर रुपमा अघि बढाउने तयारीमा छौँ। एनटिभीका विभिन्न च्यानलहरूको उद्देश्यलाई अझ स्पष्ट र विशिष्टीकरण गर्ने, प्रदेशस्तरमा कार्यक्रमहरू केन्द्रित गर्ने र राष्ट्रिय च्यानललाई कमर्शियल मार्केटमा पनि प्रस्तुत गर्ने सोच छ। यसका साथै, एनटिभी वल्र्ड च्यानललाई प्रक्षिप्त गर्दै हाम्रो डिजिटल प्लेटफर्मलाई पनि बलियो बनाउने योजनामा छौँ।

अन्त्यमा, नेपाल टेलिभिजनका कर्मचारी, दर्शक र विज्ञापनदाताहरूसँग तपाईंको सन्देश के छ?

नेपाल टेलिभिजनको ४० औं वार्षिकोत्सवको अवसरमा म सम्पूर्ण दर्शक, कर्मचारी र विज्ञापनदातालाई आभार व्यक्त गर्न चाहन्छु। हामीलाई यहाँसम्म ल्याउनका लागि तपाईंको योगदान अपार छ। भविष्यमा पनि हाम्रो साथ र सहयोगको अपेक्षा गर्दछु। साथै, पिएसबीका रूपमा हामी नयाँ अवसरहरूको सिर्जना गर्दै संस्थाको दायरा विस्तार गर्नेछौँ।

यस पथमा हामी सबै मिलेर राष्ट्रिय एकताको भावना र समृद्धिको लक्ष्य पूरा गर्न जुट्नु पर्छ भन्ने कुरामा म दृढ छु।

प्रतिक्रिया राख्नुहोस्

Back to top button