भोजपुरमा साढे आठ हजारलाई एचपिभी खोप लगाउने तयारी
भोजपुर । पहाडी जिल्ला भोजपुरमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान अन्तर्गत करिव साढे आठ हजार लाई खोप लगाईने भएको छ । खोप कार्यक्रम संचालनका लागि अहिले पालिका स्तरीय खोप कार्यकर्ताहरुलाई तालिम समेत संचालन भई रहेको छ ।
स्वास्थ्य कार्यालय भोजपुरका अनुसार, पाठेघरको क्यान्सर विरुद्ध दिईने एचपिभी खोप बिद्यालयमा अध्ययनरत किशोरीहरुलाई लगाइने भएको हो । नौ स्थानीय तह रहेको भोजपुरमा आठ हजार चार सय १९ जनालाई एचपिभी खोप लगाउन लागिएको स्वास्थ्य कार्यालयका प्रमुख राजु श्रेष्ठले जानकारी दिनुभयो । खोप अभियान सञ्चालनका लागि जिल्लाका एक सय ३५ बिद्यालय, नौ स्थानीय तहका ८१ वटै वडा, ८१ वटा स्वास्थ्य संस्था र नौ वटा समुदाय स्तरीय खोप केन्द्र गरी दुई सय २५ खोप केन्द्र निर्धारण गरिएको प्रमुख श्रेष्ठले बताउनुभयो । जसका लागि दुई सय २५ जना स्वास्थ्यकर्मी र चार सय ५० जना स्वयम सेवक परिचालन गरिने छ ।
खोप कार्यक्रमका लागि अहिले खोप कार्यकर्ताहरुलाई पालिका स्तरीय तालिम पनि संचालन भईरहेको छ । अभियान अन्तर्गत षडानन्द नगरपालिका एक हजार पाँच सय तीन, भोजपुर नगरपालिका एक हजार तीन सय १०, रामप्रसाद राई गाउँपालिका नौ सय २९, आमचोक गाउँपालिका आठ सय ६९, साल्पासिलिछो गाउँपालिका आठ सय ४९, हतुवागढी गाउँपालिका सात सय ८६, टेम्कैमैयुङ गाउँपालिका सात सय ८२, अरुण गाउँपालिका सात सय ७१ र पौवादुङमा गाउँपालिकाका छ सय २० जनालाई पाठेघरको क्यान्सर विरुद्ध दिईने एचपिभी खोप लगाईने स्वास्थ्य कार्यालय भोजपुरले तथ्यांक जनाएको छ ।
कक्षा छ देखि १० कक्षासम्म अध्ययरत तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई एचपिभी खोप दिन लागिएको हो । एचपिभी विरुद्धको खोपले पाठेघरको मुखको क्यान्सर, गुदद्वारको क्यान्सर, घाँटी र जनेन्द्रियहरूको क्यान्सरबाट बचाउने स्वास्थ्यकर्मीको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्