नगरकोट भ्रमण वर्ष–२०८२ को तयारी सुरु

भक्तपुर । नगरकोट भ्रमण वर्ष–२०८२ को तयारी सुरु भएको छ ।
भ्रमण बर्ष तयारीका लागि बसेको मूल समारोह समितिको पहिलो बैठकले प्रत्येक नगरबासीलाई घर–घरबाट जागृत गराई भ्रमण वर्ष सफल बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।
मूल समारोह समितिका अध्यक्ष तथा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले नयाँ वर्षदेखि सुरु हुने भ्रमण वर्षको तयारी स्वरूप सम्पूर्ण सरोकारवाला निकाय सम्मिलित समिति निर्माण गरि बैठक आयोजना गरिएको बताउनुभयो ।
नगरप्रमुख खत्रीले समग्र चाँगुनारायणको धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक महत्वका सम्पदाहरूलाई प्रचार प्रसार गरि पर्यटनमार्फत नगरलाई समृद्ध बनाउन भ्रमण वर्ष आयोजना गरिएको बताउनुभयो । उहाँले माघभित्र सबैको सुझाव सङ्कलन गरि फागुनदेखि प्रचार प्रसारमा लाग्ने पनि जानकारी गराउनुभयो ।

बैठकमा प्रतिनिधिसभा सदस्य तथा समितिका सल्लाहकार दुर्लभ थापाले यसले समग्र चाँगुनारायणको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने बताउनुभयो ।
सांसद थापाले कमलविनायक नगरकोट सडक नगरपालिका आफैले निर्माण गर्न बजेट विनियोजन गरेकोमा खुसी ब्यक्त गर्दै कानुनी प्रक्रिया पुर्याएर चाँडो निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
अर्का संघीय सांसद तथा समितिका सल्लाहकार सन्तोष परियारले पर्यटन प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्रै पर्यटनमार्फत नगरको विकास गर्ने सोच राख्नु सकारात्मक कदम भएको बताउनुभयो ।
बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले नगरकोट भ्रमण वर्षमार्फत नगरभित्र रहेका विभिन्न जातजाति, धर्म, कला संस्कृतिको जर्गेना, उत्थान तथा संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
बागमती प्रदेशका पूर्व मन्त्री तथा समितिका सल्लाहकार कृष्णलाल भँडेलले भ्रमण वर्ष अवसर र चुनौती दुवै भएको भन्दै नगरपालिका मात्रको एक्लो प्रयासले सफल नहुने भएकाले सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।
बैठकमा नगर उपप्रमुख रमेश बुढाथोकीले नगरकोट भ्रमण वर्ष मनाउनुको उद्देश्य, हालको तयारी, भ्रमण वर्षले पार्ने प्रभाव र पर्यटन प्रवद्र्धनमा पुग्ने लाभका विषयमा विस्तृत योजनासहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा बागमती प्रदेशसभा सदस्य देवेन्द्र श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तथा समितिको सदस्य सचिव शिवप्रसाद हुमेगाई, नगर प्रवक्ता जनक खत्री, वडा नंं ६ नगरकोटका वडाध्यक्ष धन बहादुर लामा लगायतले नगरपालिकाले आफ्नै स्रोत र साधनबाट समृद्ध नगर बनाउने सोचका साथ पर्यटन प्रवद्र्धनमा लाग्नु अत्यन्तै महत्वपूर्ण कार्य भएको बताउनुभयो ।
बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सल्लाहकारहरू, पूर्व जनप्रतिनिधिहरू, रेडक्रस, सुरक्षा निकायका प्रमुखहरू, नगरकोट नाल्दुम क्षेत्र विकास समितिका प्रतिनिधि, पत्रकार, होम स्टे व्यवसायी, होटल व्यवसायी, सहकारी संस्था, टोल विकास समिति, नगरपालिका भित्रका गैर सरकारी संस्था ,सामुदायिक वन र विद्यालयका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो ।
बैठकमा सहभागी सरोकारवालाहरुले भ्रमण वर्षको बारेमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्