राजनीतिक स्थायित्व र विकासका लागि वर्तमान सरकार
लुम्बिनी । राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माणाधीन सिद्धबाबा सुरूङमार्गको मुख्य सुरुङ छिचोल्ने काम ‘ब्रेक थ्रु’ आज सम्पन्न भएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको आज प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गर्नुभयो ।
यस्तै, पूर्वपश्चिम राजमार्गको बुटवल–गोरूसिङ्गे सडकको स्तरोन्नति कार्यक्रमको समेत प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभयो ।
कार्यक्रममा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायत सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सरकारले सुशासन र विकासलाई मूल मुद्दा बनाएर अगाडि बढेको बताउनुभयो । उहाँले हरेक योजनामा जनसहभागिता र सर्वस्वीकार्य हुन जरुरी रहेको बताउनुभयो ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबामा निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग र पूर्वपश्चिम राजमार्गको बुटवल–गोरूसिङ्गे सडकको स्तरोन्नति कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थायित्वबिना विकासले गति लिन नसक्ने भएकाले पनि प्रमुख दुई ठूला दल मिलेर वर्तमान सरकार बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “छिनछिनमा सरकार परिवर्तन भइरहने कारणले जनतामा निराशा छाएकाले राष्ट्रिय राजनीतिक आवश्यकताले दुई दलको सरकार बनेको हो ।”
उहाँले ब्रेक थ्रु भएको सिद्धबाबा सुरूङमार्ग र बुटवल गोरूसिङ्गे सडक गुणस्तरीय तथा समयमै सम्पन्न गर्न आग्रह गर्दै यसका लागि सबै क्षेत्रको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
‘सुरूङमार्गले जीवनमार्गमा बदल्न सफलता मिल्यो’
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिद्धबाबा सुरूङमार्गले अब जीवनमार्गमा बदल्ने अभियानमा सफलता मिलेको बताउनुभयो ।
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डअन्तर्गतको शिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरूङमार्गको ब्रेक थ्रु कार्यक्रम र पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरूसिङ्गे खण्डको स्तरोन्नति शिलान्यास अलग–अलग कार्यक्रमलाई आज सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले निकै जोखिमपूर्ण मृत्युमार्ग बनेको सिद्धबाबा सडकखण्डलाई जीवनमार्गमा बदल्न सुरूङमार्ग निर्माण गरिएको बताउनुभयो ।
उहाँले मृत्युमार्गलाई जीवनमार्गमा बदल्न अविचलित भएर लागेर फलस्वरूप: आज यस सुरूङमार्गको ‘ब्रेक थ्रु सेलिब्रेसन’को महत्त्वपूर्ण क्षणमा आइपुगेका र अब यो आयोजना छिट्टै सम्पन्न भएर सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभयो ।
उपप्रधानमन्त्री पौडेलले रुपन्देहीलाई विकासका दृष्टिकोणले नमूना जिल्ला बताउँदै लुम्बिनीको महत्त्व संसारभरि स्थापित गर्ने बताउनुभयो । उहाँले कुनै पनि आयोजना समयमा सम्पन्न गर्न, त्यसको गुणस्तरीयता र लागतका विषयमा जनस्तरबाट निरन्तर निगरानी हुनुपर्ने समेत बताउनुभयो ।
निर्माणाधीन बुटवल–नारायणघाट सडकको निर्माणबाट पाठ सिकेर आज शिलान्यास गरिएको सडक नागरिकले सास्ती व्यहोर्न नपर्ने गरी निर्माणकार्य अघि बढाउन सुझाव दिइएको उहाँका भनाइ छ । उहाँका अनुसार सरकारले आवश्यकताअनुसार अध्यादेश ल्याई अनेकौँ अवरोध हटाउँदै देशमा लगानी र उत्पादकत्व वृद्धि गर्न सहयोग पुग्नेछ ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बुटवल–नारायणगढ सडक निर्माणमा ढिलाइ भए पनि शिद्धबाबा सुरूङमार्ग र बुटवल गोरूसिङ्गे सडकखण्डको स्तरोन्नतिको काम समयमै सम्पन्न हुने बताउनुभयो ।
बुटवलबाट रुपन्देही र कपिलवस्तुको सीमा क्षेत्र कोठी नदीसम्मको २५ किलोमिटर र कोठीबाट गोरूसिङ्गेसम्म २५ किलोमिटरलाई दुई भागमा विभाजन गरी गत असार १३ गते चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इञ्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले सडक निर्माणको ठेक्का सम्झौता भएको थियो ।
बुटवल–गोरूसिङ्गे सडक निर्माण आयोजना प्रमुख इञ्जिनियर कुशलता न्यौपानेका अनुसार निर्माण कम्पनीले गत कात्तिक ४ गते सडक विभागसँग कार्यादेश लिएर निर्माणको तयारीको काम अगाडि बढाएको थियो । सडक निर्माणको लागि एउटै कम्पनीले ठेक्का लिए पनि दुई भागमा विभाजन गरी अलग–अलग ठेक्का सम्झौता गरिएको छ । निर्माणको काम पनि बुटवल र कपिलवस्तु दुवैतर्फबाट एकै पटक सुरु हुने आयोजनाले जनाएको छ ।
सडक स्तरोन्नति आयोजनाका लागि रू १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजारमा ठेक्का सम्झौता भएको छ । आयोजनाअन्तर्गत ५० किलोमिटर सडकका लागि बुटवल–कोठीनदी खण्डको रू सात अर्ब ८९ करोड र कोठीनदी–गोरूसिङ्गे खण्द्धडको रू पाँच अर्ब ६६ करोडमा सम्झौता भएको छ । यो सडक विस्तारका लागि विश्व बैंकले रू २७ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने छ । ५० किलोमिटर सडकअन्तर्गत कपिलवस्तुतर्फको सालझण्डी–पिपरा र वनगाई–गोरूसिङ्गेसम्म करिब २० किलोमिटर जङ्गल क्षेत्र छ । जङ्गल क्षेत्रमा सर्भिस लेनबिना २४ मिटर चौडाइको चार लेन सडक बन्नेछ ।
पहिलो चरणमा बन्ने ५० किलोमिटर खण्डमा ३० वटा ठूला पुल र १४ वटा कल्भर्ट पनि बनाइनेछ । बजार क्षेत्रमा छवटा अन्डरओभर पास हुनेछन् । सम्झौताअनुसार कार्यादेश लिएको मितिदेखि तीन वर्षभित्र अर्थात् २०८४ असोजभित्र काम सक्नुपर्नेछ ।
प्रतिक्रिया राख्नुहोस्