कर्णालीको अवस्था बदल्न युवाहरूको साथ चाहिएको छ : मुख्यमन्त्री कँडेल
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको अवस्था बदल्न युवाहरूको साथ र सङ्कल्पको जरुरी रहेको बताउनु भएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा आज देखि शुरु भएको कर्णाली युवा महोत्सवको उद्घाटन गर्दै उहाँले सरकारको एकल प्रयासले मात्र कर्णालीको विकास र समृद्धिको यात्रा सफल नहुने भएकाले युवाहरूको साथ चाहिएको बताउनु भएको हो । प्रदेश सरकारलाई निश्चित बजेट र स्रोतसाधनका आधारमा काम गर्नुपर्ने बाध्यता रहेको बताउँदै उहाँले सबै पक्षलाई समेटेर लैजाने प्रयासमा युवाहरूको सकारात्मक साथ आवश्यक औँल्याउनु भयो ।
युवा महोत्सवलाई सम्बोधन गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले युवाहरूले निराशाको खेती गरेर नागरिकलाई पछि धकेल्ने काम गर्न नहुने बताउनु भयो । राज्यले के गरेको छ ? भनेर निराशा छर्ने काम भएको छ, कोभिडजस्तो भयावह अवस्थामा पनि स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीले नागरिकको सुरक्षाका लागि फ्रन्टलाइनमा आएर राज्यप्रतिको दायित्व पुरा गरेको उदाहरण प्रस्तुत गर्दै युवाहरूले समाजलाई भ्रम छर्ने खालका गतिविधिमा नलाग्न उहाँले आग्रह गर्नु भयो । उहाँले आफ्नो खेतीयोग्य जमिनलाई बाँझो राखेर राज्यलाई गाली गरेर विदेश जाने मोह त्याग्नुपर्ने सुझाव दिनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले कर्णालीका नागरिकहरूले केही गर्न सक्दैनन् भन्ने सोच बदल्नुपर्ने बेला आएको बताउनु भयो । उहाँले युवालाई उत्पादन, उद्यमशीलताका क्षेत्रमा आकर्षण गराउने खालका कार्यक्रमहरू प्रदेश सरकारले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
परिवर्तनका लागि युवा, राष्ट्र निर्माण मञ्च नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा शुरु भएको कर्णाली युवा महोत्सव शनिबारसम्म चल्नेछ । महोत्सवमा कर्णालीको विकासमा युवाको भूमिका, युवा उद्यमशीलता र सृजनशीलता लगायतका विषयमा प्रेरणादायी सत्रहरू सञ्चालन भइरहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्