तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र प्रहरी राष्ट्रिय गौरवको प्रतीक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सीमाको सुरक्षा र अवैध गतिविधि रोकथाम, विपद् व्यवस्थापन र शान्ति मिसनमा सशस्त्र प्रहरीले बलले पुर्‍याएको योगदानबाट सशस्त्र प्रहरीलाई राष्ट्रिय गौरवको प्रतीकका रूपमा उभ्याएको बताउनुभएको छ ।

२४औँ सशस्त्र प्रहरी दिवसका अवसरमा आज हल्चोकमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले बाढी, पहिरो, आगलागी, भूकम्प, दुर्घटना, महामारीजस्ता प्राकृतिक वा मानव सिर्जित विपद् उद्धारका क्षेत्रमा सशस्त्र प्रहरीले गरेका कामको नेपाल सरकारले उच्च मूल्याङ्कन गरेको बताउनुभयो ।

गृहमन्त्रीले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ विभिन्न मिसनमा व्यावसायिकताका साथ काम गरी नेपालको नाम उच्च बनाउने कार्यमा सशस्त्र प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले संयुक्त राष्ट्र सङ्घीय मिसनमा थप सहभागिताका लागि मन्त्रालय सकारात्मक रहेको बताउनुभयो ।

सीमा तथा सीमा स्तम्भको सुरक्षा, सीमापार अपराध, अवैध चोरी पैठारी, मानव बेचबिखन तथा लागू पदार्थको ओसारपसार लगायत अपराध नियन्त्रण गर्न सशस्त्र प्रहरी ‘डेडिकेटेड’ फौजका रूपमा रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले आगामी दिनमा सामाजिक कार्यमार्फत यस्ता अपराधलाई न्यूनीकरण गर्न अग्रसर हुन आग्रह गर्नुभयो । सशस्त्र प्रहरी बलको सुदृढीकरणका लागि थप जनशक्तिको व्यवस्थासहित बोर्डर आउट पोष्ट स्थापनाको प्रयास भइरहेको उहाँको भनाइ छ ।

सरकार सशस्त्र प्रहरी बलको क्षमता वृद्धि, प्रविधिको विस्तार, जनशक्ति व्यवस्थापन र सुविधाको विस्तारमा सधैँ प्रतिबद्ध रहेको जनाउँदै गृहमन्त्री लेखकले आगामी दिनमा सशस्त्र प्रहरीलाई अझ थप प्रभावकारी सङ्गठनको रूपमा विकास गर्न आवश्यक सबै पक्षलाई बलियो बनाउन सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

मुलुकको अन्तर्राष्ट्रिय सीमालाई सुरक्षित राख्न दशगजाको सरसफाइ, अवैध संरचना र खेती हटाउने कार्यलाई समकक्षीसँग समन्वय गरेर अघि बढाइएको बताउनुभयो । उहाँले सीमा इलाकामा हुने अवैध चोरी पैठारी तथा सीमापार अपराध नियन्त्रणको कार्यलाई सङ्गठनले उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

समारोहमा गृहमन्त्री लेखकले अवकाश प्राप्त सशस्त्र प्रहरी नायब महानिरीक्षक नवराज विष्टलाई ‘एपिएफ लाइफ टाइम एचिभमेन्ट अवार्ड’ र उत्कृष्ट कार्यसम्पादन गर्ने नं ३ गढीमाई बाहिनीका प्रहरी नायव महानिरीक्षक गणेशबहादुर ठाडामगरलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गर्नुभयो । त्यस अवसरमा गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलले प्रकाशन गरेको ‘एपिएफ वर्ष पुस्तक’ लोकार्पण गर्नुभएको थियो ।

सो क्रममा सशस्त्र प्रहरीका खेलाडीले जुडो, उसु र तेक्वान्दो खेल प्रदर्शन गरेका थिए । त्यस अवसरमा भूकम्प, केबलकारमा अड्किएका यात्रुको उद्धार र शान्ति मिसनमा खटिँदा अपहरणमा परेका प्रहरी प्रमुखको सकुसल रिहाइ गरेको नमुना अभ्यास प्रदर्शन गरिएको थियो ।

सशस्त्र प्रहरीले २४ वर्षको अवधिमा सीमासुरक्षा, आन्तरिक सुरक्षा, राजस्व, भन्सार र औद्योगिक सुरक्षा तथा विपद् व्यवस्थापनमा आफूलाई क्रियाशील बनाएको छ । सशस्त्र प्रहरीले ‘नशारहित युवा देशका कर्णधार, सुरक्षित सीमा समृद्ध राष्ट्र निर्माणको आधार’ नारासहित यसवर्ष लागुऔषध विरुद्धको वर्ष मनाउने निर्णय गरेको छ ।

चोरी निकासी–पैठारी रोकथाममा राज्यलाई सघाएको सशस्त्र प्रहरी बलले गत आवमा रू एक अर्ब ६४ करोड छ लाख सात हजार बराबरको चोरी निकासी नियन्त्रण गरेकामा चालु आवको छ महिनामा रू एक अर्ब पाँच करोड २९ लाख ७५ हजार बराबर राजस्व सङ्कलनमा योगदान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button