तपाईँ सुन्दै हुनुहुन्छः

नौ खर्बको वैदेशिक व्यापार गर्दा सात खर्बको व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा  नेपालले नौ खर्ब २१ अर्ब १६ करोडको वैदेशिक व्यापार गर्दा सात खर्ब २३ अर्ब ५८ करोड १३ लाखको व्यापार घाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत पुस मसान्तसम्ममा आठ खर्ब २२ अर्ब ३७ करोड पाँच लाख बराबरको वस्तु आयात हुँदा ९८ अर्ब ७८ करोड ९२ लाख बराबरको मात्रै निर्यात भएको छ । 

गत आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा निर्यात ३१.७८ प्रतिशतले बढ्दा आयात सात प्रतिशतले बढेको छ यस अवधिमा व्यापार घाटा चार दशमलव ३८ प्रतिशतले बढेको छ । 

नेपालले सबैभन्दा धेरै व्यापार घाटा भारतसँग व्यहोरेको छ । पछिल्लो छ महिनाको अवधिमा भारतबाट पाँच खर्ब दुई अर्ब ८५ करोड बराबरका वस्तु आयात गर्दा ७३ अर्ब ७१ करोड १२ लाख बराबरको निर्यात भारतमा गरेको छ । जसअनुसार यो अवधिमा भारतसँगको मात्र व्यापार घाटा  चार खर्ब २९ अर्ब १४ करोड बराबर रहेको छ । त्यस्तै चीनसँग  एक खर्ब ५८ अर्ब ६२ करोड र अर्जेन्टिनासँग २२ अर्ब ६२ करोड व्यापार घाटा रहेको छ ।

नेपालले एक सय २३ मुलुकसँग व्यापार घाटा बेहोरेको छ भने ३२ वटा मुलुकसँग व्यापार नाफा बेहोरेको छ । नेपालले गर्ने वैदेशिक व्यापारमा बढी नाफा रहेका मुलुकमा डेनमार्क, अस्ट्रिया, रसियन फेडेरेसन, माल्दिभ्सलगायत छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button