अर्थ मन्त्रीद्वारा रणनीतिक योजना बनाएर काम गर्न बैङ्क तथा वित्तीय संस्थाका प्रमुखहरूलाई निर्देशन
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिवर्तित सन्दर्भमा रणनीतिक योजना बनाएर उचित प्रतिफल आउने गरी काम गर्न सरकारी बैङ्क तथा वित्तीय र गैर वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत तथा लाई निर्देशन दिनुभएको छ ।

अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले सरकारी बैङ्क तथा वित्तीय र गैर वित्तीय संस्थाहरूलाई आवश्यक पर्ने नीति तथा कानून बनाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने भन्दै त्यसका लागि अग्रसरता लिन निर्देशन दिनुभयो । उहाँले सामान्य अवस्थाको प्रगतिले नपुग्ने भन्दै अहिले देखा परेका समस्याहरूलाई समाधान गर्न सार्थक पहल लिनुपर्ने बताउनुभयो ।
अर्थमन्त्री पौडेलले समस्यालाई आ–आफ्नो जिम्मेवारी र सीमामा रहेर काम गर्न संस्थाको विश्वसनीयतालाई बढाउने गरी काम गर्न निर्देशन दिनुभयो । साथै खराब कर्जाको आकार घटाउँदै प्रतिफल दिने ठाउँमा लगानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सरकारी बैङ्क तथा वित्तीय र गैर वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारीहरूले केही ठाउँमा कर्जा असुलीमा समस्या रहेको भन्दै पुँजीको वृद्धि र लगानी विस्तारका लागि केन्द्रित हुने बताउनुभएको थियो ।
बैठकमा अर्थ सचिव, राजस्व सचिव, राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल बैङ्क लिमिटेड, कृषि विकास बैङ्क, कर्मचारी सञ्चय कोष, ग्रामीण विकास लघु वित्त वित्तीय संस्था, निक्षेप तथा कर्जा सुरक्षण कोष लगायतका अध्यक्ष तथा प्रमुखहरूको सहभागिता थियो ।








प्रतिक्रिया राख्नुहोस्