६ महिनामा २१ करोड बढीको तस्करीको सामान बरामद
वीरगञ्ज । पर्सामा सशस्त्र प्रहरीले ६ महिनामा २१ करोड भन्दा बढी मूल्यको अवैध रुपमा भारतबाट तस्करी गरी भित्र्याइएको सामान नियन्त्रणमा लिएर वीरगन्ज भन्सार कार्यालय र राजश्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि पुससम्म भारतबाट भन्सार राजश्व छलेर पर्साको वीरगन्जसहितका नाका हुदैं भित्र्याइएका २१ करोड २८ लाख २६ हजार ५ सय २२ रुपैयाँ मूल्यका सामान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिइएका ती सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय र बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको उहाँले जानकारी दिनुभयो ।
पछिल्लो ६ महिनामा वीरगन्ज भन्सार कार्यालयमा १६ करोड ४७ लाख ४१ हजार १ सय ७५ रुपैंया बराबरको र ४ करोड ६० लाख ८५ हजार ३४७ रुपैंया मूल्य बराबरको सामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको धामीले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीले गत आर्थिक वर्ष २०८०÷८१ मा भने पर्साका विभिन्न स्थानबाट राजश्व छली गरेर भित्र्याइएका १४ करोड ५९ लाख ७२ हजार ८६७ रुपैंया मूल्य बराबरको सामान बरामद गरेर भन्सार र राजश्व अनुसन्धान कार्यालयमा बुझाएको थियो ।
गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको ६ महिनामै ६ करोड ६८ लाख ५३ हजार ६५५ रुपैंया बढी मूल्यको सामान बरामद गरिएको पनि सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक धामीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्