तपाईँ सुन्दै हुनुहुन्छः

त्रिवेणी कप भलिबल प्रतियोगिताको उपाधि नेपाल प्रहरीलाई

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा सम्पन्न दोस्रो त्रिवेणी कप पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल प्रहरीको रानी विराटनगरले जितेको छ ।

चौबिसे गाउँपालिकाको को वडा नं. ४ र ५ को सिमानास्थित फलामे टारमा मङ्गलवार सम्पन्न फाइनल खेलमा नेपाल प्रहरीको रानी विराटनगरले कोशी प्रदेश ट्रेनिङ सेन्टरलाई पराजित गर्दै उपाधि जितेको हो ।

फाइनल खेलमा प्रहरीले लाई सेन्टरलाई २६–२४, २५–२२ र २५–२३ को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । विजेता नेपाल प्रहरी रानी विराटनगरले उपाधिसँगै नगद एक लाख बाइस हजार दुई सय २२ रुपैयाँ हात पारेको छ भने उपविजेता कोशी प्रदेश ट्रेनिङ सेन्टरले ६६ हजार छ सय ६६ रुपैयाँमा चित्त बुझाएको छ ।

कोशी प्रदेशका ८ टिमको सहभागिता रहेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्रहरीका बालकुमार रायमाझी घोषित हुनुभयो । उहाँले नगद २ हजार ५ सय रुपैयाँ हात पार्नुभयो । यस्तै उत्कृष्ट स्पाइकर कोशी ट्रेनिङ सेन्टरका रोशन श्रेष्ठ, उत्कृष्ट सटर कोशी ट्रेनिङ सेन्टरका मनोज घिमिरे, उत्कृष्ट ब्लकरमा प्रहरीका अम्बिका खत्री र उत्कृष्ट डिफेन्स प्रहरीका युगल मगरले जनही नगद २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ ।

विजयी खेलाडीहरूलाई पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार राई लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

गत वर्षदेखि सुरु भएको प्रतियोगिताको यो पटक दोस्रो संस्करण त्रिवेणी खेलकुद विकास समितिको आयोजनामा भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button