तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर महानगरपालिकाले ल्यायो १४ करोड २८ लाख रुपैयाँको पूरक बजेट

चितवन । भरतपुर महानगरपालिकाले १४ करोड २८ लाख रुपैयाँको पूरक बजेट ल्याएको छ । आइतबार विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सभाहलमा भएको १६ औँ नगर सभाको बैठकमार्फत पूरक बजेट ल्याइएको हो । एक सय ४ वटा वडास्तरीय तथा नगरस्तरीय योजनाहरूको कार्यक्रम संशोधन तथा रकमान्तर भएको रु १४ करोड २८ लाख ल्याइएको हो ।

उपमेयर चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले विभिन्न खर्च शीर्षक तथा उपशीर्षक अन्तर्गत नयाँ कार्यक्रम थप एवं संशोधन गर्नुपरेको उहाँले बताउनुभयो  ।

बजेट शीर्षक तथा उपशीर्षक अन्तर्गत श्रोत सुनिश्चितता गरी योजना समयमै सम्पन्न गर्न, आर्थिक, भौतिक एवं सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनाई राष्ट्रको विकासमा टेवा  पुर्‍याउन, साधन–स्रोत, अवसर र क्षमताको विकास तथा उच्चतम उपयोग गरी समृद्ध महानगर बनाउन, सेवा प्रवाहलाई सरल तथा प्रभावकारी बनाउन, र वित्त विश्लेषणमार्फत जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पूरक बजेट ल्याइएको अधिकारीको भनाई थियो ।

चालु आर्थिक वर्षको अर्ध वार्षिक प्रगति स्थितिको विश्लेषणको आधारमा बजेट तथा कार्यक्रम संशोधन एवम् समायोजन गरिएको उहाँले बताउनु भयो  ।

महानगरले आर्थिक वर्ष २०८१÷०८२ का लागि ६ अर्ब ५६ करोड १ लाख ४३ हजार बजेट विनियोजन गरेको थियो ।

नगर सभामा बोल्दै महानगर प्रमुख  दाहालले नारायणी नदीको किनारमा २३ किलोमिटर तटबन्धको कार्य अन्तिम चरणमा रहेको बताउनु भयो । भरतपुर विमानस्थलको टर्मिनल भवन निर्माणाधीन अवस्थामा रहेको र धावनमार्ग निर्माण प्रक्रिया सुरु भएको  र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणले गति लिएको, एशियाली मापदण्डको सिक्स लेन सडक निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । यस्तै ८८ किलोमिटर लामो रिङरोडसहित संघ, प्रदेश र महानगरपालिकाको लगानीमा १ हजार ३ किमी कालोपत्रे सडक निर्माण भएको बताउँदै उहाँले महानगरको प्रशासकीय भवन, सिटी हल, जङ्गली जनावरबाट मानव तथा पशु बालीमा हुने क्षति न्यूनीकरणको लागि फाउण्डेशन सहितको मेस जाली निर्माण भइरहेको बताउनुभयो  ।

उत्पादनमा आधारित अनुदान कार्यक्रमले दूध उत्पादनमा उल्लेख्य वृद्धि भई आम कृषकको आर्थिक अवस्थामा सुधार आएको बताउनुभयो  । विभिन्न निकाय सँगको समन्वयमा ७ हजार ९ सय बिगाहा क्षेत्रफलमा सिँचाइको व्यवस्था गरिएको, नारायणी लिफ्ट सिँचाई आयोजनालाई १२ महिनै सञ्चालन गर्ने गरी काम अगाडि बढेको  जानकारी दिनुभयो ।  

संस्थागत विद्यालयबाट वितरण हुने कक्षा १२ सम्मका छात्रवृत्तिलाई लक्षित वर्ग केन्द्रित गरी १४५ जना युवा स्वयंसेवक शिक्षकहरूको व्यवस्था गरी सबै विद्यालयमा शिक्षक व्यवस्थापन गरिएको उल्लेख गर्नुभयो । महानगरका स्थायी बासिन्दा महिलाबाट सरकारी स्वास्थ्य संस्थामा जन्मिएका ८ सय ९१ जना छोरीहरूको बालउमङ्ग जीवन बिमा गरिएको बताउनुभयो ।

सो अवसरमा भरतपुर भ्रमण वर्ष २०२४ को अवधिमा भरतपुर महानगरपालिकामा ११ लाख ६४ हजार आन्तरिक पर्यटक र २ लाख ८४ हजार बाह्य पर्यटकसहित जम्मा १४ लाख ४९ हजार जना पर्यटकले भरतपुर भ्रमण गरेका जानकारी दिइएको थियो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button