नेपाल र भारतका सुरक्षा अधिकारीबीच बैठक सम्पन्न
बाँके। सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रण गर्ने विषयमा नेपाल र भारतबीच समन्वय गर्ने सहमति भएको छ ।
नेपाल–भारत जिल्लास्तरीय सीमा समन्वय समितिको शनिबार भारतको रुपैडिहामा सम्पन्न बैठकमा सो सहमति भएको थियो ।
बैठकमा निकट भविष्यमा हुन गइरहेको महाकुम्भ मेला र भारतीय गणतन्त्र दिवसको अवसरमा हुने कार्यक्रमको सुरक्षा व्यवस्था, समन्वय तथा लागू औषध ओसारपसार, मानव बेचबिखन, वन्यजन्तु र बन पैदावर चोरी तस्करी लगायतका विषयमा आपसी सहयोग र समन्वय गर्ने दुवै देशका अधिकारीहरुले छलफल गर्नुभएकाे थियो । बैठकमा नेपालका सीमावर्ती जिल्लाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
सीमा सुरक्षा, हातहतियार, लागूऔषध, मदिरा, सुर्ती तथा अन्य अवैध वस्तुको नियन्त्रणका विषयमा बैठकमा गहन छलफल भएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो ।
बैठक बाँके प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, बर्दिया कि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा सँगै भारत उत्तर प्रदेशका जिल्ला अधिकारी मोनिका रानीको संयुक्त अध्यक्षतामा भएको थियो । भेटमा दुवै देशका जिल्ला अधिकारीहरुले संयुक्त रुपमा वार्ता अत्यन्तै सौहार्दपूर्ण र सकारात्मक वातावरणमा भएको र यसले आगामी दिनमा सीमापार हुने गैरकानूनी गतिविधिलाई नियन्त्रण गर्न निकै मद्दत पुग्ने भारत उत्तर प्रदेशकी जिल्ला अधिकारी मोनिकाले बताउनुभयो ।
बैठकमा नेपालको तर्फबाट बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगी,जिल्ला स्थित सुरक्षा निकायका प्रमुख र भारतको तर्फबाट बहराईच जिल्लाको प्रमुख जिल्ला अधिकारी, भन्सार कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुख, सडक कार्यालय, यातायात कार्यालय, वन कार्यालयका प्रमुख लगायत अन्य सरकारी कार्यालयका प्रमुख एवं पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्