कांग्रेस–एमाले गठबन्धन सरकारलाई गल्ती गर्ने छुट छैन : नेता साउद
नेपालगन्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री एनपी साउदले कांग्रेस(एमाले गठबन्धन सरकारलाई गल्ती गर्ने छुट नभएको बताउनुभएको छ ।
नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता साउदले मुलुकमा सुशासन र समृद्धि हासिल गर्नका लागि दुई ठूला दल मिलेर बनेको गठबन्धन सरकारबाट जनताको धेरै अपेक्षा रहेकाले गल्ती गर्ने छुट नरहेको बताउनुभयो । वर्तमान सरकारको एजेण्डा संविधान संशोधन पनि भएको बताउँदै उहाँले संविधान संशोधनका लागि राष्ट्रिय सहमति भने आवश्यक रहेको बताउनुभयो ।
नेपाली काँग्रेसलाई एकताबद्ध र सुदृढ गर्नुपर्नेमा जोड दिँदै साउदले १४औँ महाधिवेशनको म्यान्डेट पनि एकताबद्ध कांग्रेस भएकाले सबै त्यसमा लाग्नुपर्ने बताउनुभयो । कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा केन्द्रीय सदस्यहरु कृष्णकिशोर घिमिरे, मैकुलाल वाल्मीकि, अब्दुल सत्तार, चम्पा खड्का लगायतले सम्बोधन गर्नुभएको थियो । जिल्ला सचिव सुधांशु कोइरालाले सञ्चालन गर्नुभएको कार्यक्रममा नेता कार्यकर्ताले सरकार र पार्टीबारे विभिन्न जिज्ञासा राखेका थिए ।
प्रतिक्रिया राख्नुहोस्