पत्रकार महासङ्घ भक्तपुरको २८ औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइयो
भक्तपुर । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरको २८ औँ स्थापना दिवस एक कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नकारात्मक दृष्टिकोणबाट मात्र समाचार नदिन पत्रकारहरूलाई सुझाव दिनुभयो ।
उहाँले शिलान्यास भएर पनि पत्रकार महासङ्घको भवन निर्माण नहुनु दुःखद भएको बताउँदै भवन निर्माणका लागि व्यक्तिगत रुपमा ५० हजार आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा शाखाका अग्रज पत्रकार एवं देशान्तर साप्ताहिकका सम्पादक कबीर राणाले लोकतन्त्रसँग प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग पनि जोडिएर आउने भएकाले महासङ्घ सधैँ लोकतन्त्रको पक्षमा हुनुपर्नेमा जोड दिनुभयो ।
यसैगरी नेपाल पत्रकार महासङ्घ उपत्यका समितिका अध्यक्ष टेनिस रोकाले विगतमा भक्तपुर शाखाले वैधानिकता गुमाउने संघारमा पुगेको महासङ्घको रक्षा गर्न र पत्रकारका श्रमजीवी र साना लगानीका पत्रपत्रिकाको पक्षमा नेतृत्वदायी भूमिका खेलेको स्मरण गराउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ काठमाण्डौं अध्यक्ष शोभा अर्याल, ललितपुर अध्यक्ष रामहरि कार्की, नेपाल प्रेस युनियन भक्तपुर अध्यक्ष रोशन शिल्पकार, प्रेस सेन्टर नेपालका अध्यक्ष मदन ढुङ्गाना, प्रेस चौतारी नेपालका उपाध्यक्ष ऋषिकेश श्रेष्ठ, समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष दिनेश कार्की, जनपत्रकार सङ्गठनका पुष्पाकुमारी साउद, अग्रज पत्रकार प्रा. डा. जगत नेपाल लगायतले शुभकामना दिनुभएको थियो ।
शाखाका अध्यक्ष सुन्दर शिल्पकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका कोषाध्यक्ष संजीप घिमिरे शुभचिन्तक, शाखाका सल्लाहकार एवम् पूर्व अध्यक्ष द्वय जगतकृष्ण प्रजापति र पुष्करराज बुढाथोकी, पूर्व अध्यक्षहरू नारायण सुन्दर किलम्बू र अमर भुजू लगायतको सहभागिता रहेको थियो ।
पत्रकार रमेश खड्का संस्थापक अध्यक्ष भएर २०५४ सालमा स्थापना गरिएको भक्तपुर शाखा त्यसयता विकल प्रसाद श्रेष्ठ, नारायणसुन्दर किलम्बु, अमर भुजू, पुष्करराज बुढाथोकी र जगत प्रजापति हुँदै हाल सुन्दर शिल्पकारको नेतृत्व रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्