सल्यानमा धान उत्पादनमा वृद्धि
सल्यान । सल्यानमा यस वर्ष धान उत्पादनमा वृद्धि आएको छ । समयमै भएको वर्षा, उन्नत बीउको बढ्दो प्रयोग र मलखादको सहजताले धानको उत्पादन र उत्पादकत्व बढेको हो ।
कृषि विकास कार्यालय सल्यानका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ मा ६ हजार हेक्टर क्षेत्रफलमा २८ हजार ८ सय ७८ मेटिकट्न धान उत्पादन भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा ६ हजार २९ हेक्टर क्षेत्रफलमा २८ हजार ५ सय ५९ मेटिकट्न धान उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी ईश्वरी नारायण घर्तीले जानकारी दिनुभयो । गत आर्थिक वर्ष भन्दा ३ हजार १९ मेटिकट्न धान बढी उत्पादन भएको उहाँको भनाई छ ।
बढ्दो सहरीकरण तथा खेती गर्ने जनशक्तिको अभावका कारण खेतीयोग्य जमिन भने बिस्तारै बाँझिदै जान थालेको छ ।
आर्थिक वर्ष २०७९/०८० मा ७ हजार ६६ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । आ.व २०७९/०८० भन्दा चालु आ.व सम्म आइपुग्दा १०३७ हेक्टर जमिनमा खेती भएको पाइँदैन ।
जनशक्तिको अभाव, सहरीकरणको प्रभाव लगायतका कारण खेतीयोग्य जमिन मासिँदै गएको कार्यालयले जनाएको छ ।
जिल्लाका मर्मपरिकाँडा, बनगाड जिउला, गरी जिउला, रेशम जिउली, कालीमाटी रामपुर, काल्चे काप्रेचौर लगायतका क्षेत्र धानको पकेट क्षेत्रका रुपमा लिने गरिन्छ । सल्यान हालसम्म खाद्यान्नमा आत्मनिर्भर जिल्लामा पर्दछ ।
प्रतिक्रिया राख्नुहोस्