तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत् उत्पादनमा लगानी गर्न ऊर्जा मन्त्री खड्काको आग्रह

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित ऊर्जाको बजार सुनिश्चित भएकाले विद्युत् क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।

विद्युत् नियमन आयोगबाट हुने कार्यसम्पादनलाई प्रविधिमैत्री बनाउने उद्देश्यले आयोगद्वारा निर्माण गरिएको ‘डकुमेन्ट म्यानेजमेन्ट सिस्टम’ को आज शुभारम्भ गर्दै मन्त्री खड्काले उत्पादित विद्युत् बजारीकरणको समस्या नरहेकाले ऊर्जा क्षेत्रमा लगानी गर्न सबैलाई आग्रह गर्नुभयो ।

ऊर्जा मन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको भन्दै उक्त लक्ष्य पूरा गर्न यस्ता प्रविधिले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । विद्युत् उत्पादनमा देखिएका समस्यालाई बिस्तारै सरकारले सहजीकरण गर्दै लैजाने उहाँको भनाइ छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले ऊर्जा विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्न आयोगको जिम्मेवारी महत्वपूर्ण रहने बताउनुभयो । साइबर सुरक्षाको समस्या हल गर्दै अनलाइन प्रणालीलाई व्यवस्थित ढङ्गले अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले सरकारले ल्याएको ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ मुलुकको जलविद्युत् विकासमा ऐतिहासिक भएको बताउनुभयो ।

विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले आयोगमार्फत प्रदान गरिने सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाई गुणस्तरीय, जिम्मेवार तथा जबाफदेही बनाउन, अन्तर्राष्ट्रिय अभ्यासलाई अवलम्बन गर्दै सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउन अनलाइन प्रणालीका शुभारम्भ गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button