नेकपा माओवादी केन्द्रले ६ महिने सङ्गठन विस्तार अभियान सञ्चालन गर्ने
काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज सम्पन्न केन्द्रीय समिति बैठकले ६ महिने सङ्गठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
काठमाडौँमा आज सम्पन्न माओवादी केन्द्रको छैटौँ केन्द्रीय समितिको बैठकले ६ महिने सङ्गठन विस्तार अभियान सञ्चालन गरी महाधिवेशनमा जाने प्रस्ताव सहितको राजनीतिक प्रतिवेदन पारित गरेको हो ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन माथि ३ दिनसम्म छलफल गरी सर्वसम्मत रुपमा पारित गरिएको माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
यस्तै बैठकले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणाली, महिलाको ५० प्रतिशत र दलितको १३ प्रतिशत राज्यका निकायमा पहुँच सुनिश्चित गर्नुपर्ने र मुस्लिमलाई विशेषाधिकार दिनुपर्ने लगायतका कुरालाई मध्यनजर गरी संविधान संशोधन हुनुपर्ने प्रस्ताव पारित गरेको प्रवक्ता सापकोटाले बताउनुभयो ।
यस्तै बैठकले आवश्यक तयारी पुरा गरी फागुन १ गते देखि हुलाकी राजमार्ग र पूर्वपश्चिम राजमार्ग केन्द्रित जनतासँग माओवादी अभियान सञ्चालन गर्ने आगामी वैशाखमा हिमाली र मध्यपहाडी क्षेत्रलाई जोड्ने गरी मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्नुहुँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीभित्र विचार, कार्ययोजना र भावनात्मक रुपमा एकता कायम गर्न बैठक सफल भएको बताउनुभयो ।
केन्द्रीय समिति बैठकले पार्टीलाई पुनः एकपटक आफ्नो वर्ग र समुदाय तर्फ फर्काउने आधार आधार तयार गरेको उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले यस बैठकका निर्णयहरू कार्यान्वयन हुँदै जाँदा समाजवादी क्रान्तिको आधार समेत निर्माण हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्