इलामकाे ऐतिहासिक निशान पदमार्गमा पौष २४ देखि पदयात्रा
इलाम । इलाममा ऐतिहासिक निशान पदमार्गमा यही पौष २४ देखि २६ गतेसम्म पदयात्रा शुभारम्भ हुने भएको छ । नेपाल एकीकरणका बेला पूर्वी सीमा विजय गरेर गाडिएका निशान ल्याइएको बाटोलाई पहिचान गरी निशान पदमार्गको रुपमा विकास गरिएको छ । निशान पदमार्गमा पदयात्रा गरी उद्घाटन गर्ने तयारी गरिएको हो । नेपाली सेनाले नेपाल एकीकरण गर्दा लगाएका पोसाक र तत्कालीन समयमा प्रयोग गरिएका हतियारको झल्को दिने सिम्बोलिक रुपमा समेत तयार गरी उद्घाटन कार्यक्रम तय गरिएको इलाम नगरपालिकाका मेयर केदार थापाले बताउनु भयो । निशान पदयात्राको लागि इलाम नगर क्षेत्रमा पर्ने पदमार्ग सहज बनाउन सम्पुर्ण तयारी गरिएको मेयर थापाले बताउनु भयो ।
नेपाल–अङ्ग्रेज युद्धपछि विक्रम संवत् १८७२ फागुन २० गते भएको सुगौली सन्धि पछि नेपाली सेनाले इलाम सदरमुकाममा निशान ल्याउन प्रयोग गरिएको मार्गलाई पहिचान गरी पदमार्ग तयार गरिएको छ । भारतको नागरी गढीमा इलाम देखि टिस्टा सम्मको प्रशासनिक कार्यको लागि तत्कालीन समयमा श्रीनाथ पल्टन निशान सहित परिचालन भएको थियो । सुगौली सन्धी पछि पूर्वको भू–भाग विजय गरेर गाडेका निशान फर्काएर इलाम ल्याइएको पूर्व प्राध्यापक जानकार युद्यप्रसाद वैद्यले बताउनु भएको छ । यो पदमार्गले इलामको पर्यटकीय क्षेत्रमा नयाँ गन्तव्य तय हुने वैद्यले बताउनु भयो ।
ऐतिहासिक र धार्मिक महत्वको निशान इलाम सम्म ल्याउन राखिएका स्थानलाई जोडने बाटो इलाम जिल्लाको सूर्योदय नगरपालिका , माईजोगमाई गाउँपालिका र इलाम नगरपालिकामा पर्दछ । स्थानीय सरकारले निशान पदमार्गको रुपमा व्यवस्थापन गरी पदयात्राको तयारी गरेको हो । पदमार्गमा सरसफाई लगायत व्यवस्थापनको कार्य गरी सकिएको सूर्योदय नगरपालिका ४ का वडाध्यक्ष शरण राईले बताउनु भएको छ ।
नेपाल भारत सिमाना जोडिएको मेची नदिको मुहानदेखि इलामको निशान स्थापना गरिएको स्थान माई स्थान मन्दिरसम्मको दुरी करिब ४१.१ किलोमिटरको रहेको यस अघि नै अध्ययन गरिएको छ । निशान पदमार्गको रुपमा दिन अघि जनप्रतिनिधि तथा सरोकारवालाको सहभागितामा निशान पदमार्ग स्थलगत रुपमा भ्रमण गरिएको इलाम नगरपालिका ७ का वडाअध्यक्ष नरेश श्रेष्ठले बताउनु भयो । निशान पदमार्गमा पर्ने इलाम नगरपालिको ८ स्थित मार्गमा सम्याउने , झाडी फाँड्ने र सरसफाइको कार्य स्थानीयबासी संघ संस्था तथा नगर प्रहरीको सहभागितामा सम्पन्न गरिएको इलाम नगरपालिकाका वडा अध्यक्ष दलमान तामाङले बताउनु भयो । इलाम नगरपालिका तर्फ पदयात्री पौष २६ गते आई पुग्नेछन् उनीहरूको स्वागतको लागि हरितनगर महिला समूह संस्थाले व्यवस्थापन गर्ने जनाइएको छ ।
नेपाल–भारत पूर्वी सीमा मेची बजारबाट पुस २४ गते बिहान पदयात्राको शुभारम्भ गरिने र सोही दिन निशान राखिएको अर्को स्थान सुर्योदयनगरपालिका ११ करफोकको पूर्णेडाँडामा आएर बास बस्ने कार्यक्रम तय गरिएको छ । भोलिपल्ट पुस २५ मा पूर्णेडाँडामा पदयात्राको औपचारिक उद्घाटन गरिने आयोजकले जनाएको छ । उद्घाटन पछि सोही दिन पदयात्रा निशान राखिएको अर्को स्थान माइजोगमाई गाउँपालिकाको नामासालिङस्थित हात्ती टारमा आएर बास बस्नेछ । २६ गते बिहान नामसालिङ हात्तीटार बाट पुनः सुरु भएको पदयात्रा माइबेनी हुँदै हाल निशान राखिएको इलाम नगरपालिका ७ माई स्थान मन्दिर स्थित माई स्थानमा आएर पदयात्राको समापन गरिने आयोजकले जनाएको छ । माईजोगमाई गाउँपालिका ४ हात्ती टारमा जहाँ निशान राखिएको अर्का स्थान र माईजोगमाई गाउँपालिकाको क्षेत्रमा पर्ने पदमार्गमा सरसफाई पदयात्रीको व्यवस्थापन खानपान , पदयात्रीको सत्कार, बासको लागि व्यवस्थापनको कार्य तीव्र रूपमा भइरहेको स्थानीय सुरेश भट्टराईले जानकारी दिनु भएको छ । पदयात्रामा जनप्रतिनिधि कर्मचारी पर्यटन व्यवसायी , स्थानीयबासी सञ्चारकर्मी लगायत सय बढी सहभागी हुने तय भएको छ ।
प्रतिक्रिया राख्नुहोस्