छोरीहरूसँगै कलेज धाउँदै पुर्ण बहादुर
बझाङ । पुर्ण बहादुरका हाइस्कुल पढ्दाका साथीहरू कोही जागिरे छन् । कसैले पढाइ छोडेर आ-आफ्नो पेशा व्यवसाय अँगाली घर गृहस्थी चलाइ रहेका छन् ।
लामो समय पढाइ छोडेको र जीवनको चालीस कटेपछि खासै कसैलाई पनि पुन: विद्यार्थी जीवन सुरुवात गर्न रुचि हुँदैन । किनभने आफ्ना सन्तानका उमेर समूहका विद्यार्थीसँग कसरी क्याम्पस जाने र परीक्षामा सँगै बस्ने भन्ने प्राय सबैलाई केही अप्ठेरो परेको देखिन्छ । बझाङ्गी परिवेशमा त झन ४३ वर्षमा नातिनातिना खेलाउने अवस्था पनि प्रायको देखिन्छ ।
तर पढाइलाई उमेरले रोक्दैन भन्ने अर्थलाई थलारा गाँउपालीका कुच घर भएका पूर्ण बहादुर नेपालीले यथार्थमा देखाएका छन् । उमेरले ४३ वर्षका पूर्ण बहादुर अहिले आफ्ना दुई छोरीसँगै स्नातक तह (वि एड) पढ्दै हुनुहुन्छ । दिप क्याम्पस झोलामा भर्ना गरि विएड अध्ययनरत पूर्ण बहादुर नेपाली हिजो आज आफ्नी छोरीहरूसँगै प्रथम वर्षको परीक्षा दिइरहनुभएको छ ।
२०५७ सालमा थलारा मावि बाट एसएलसी पास गर्नुभएका पूर्ण बहादुर ले २०७० सालमा प्लसटुु पास गर्नुभएको थियो । पारिवारिक समस्या आर्थिक अभाव र गरिबीका कारणले नियमित पढाइ लाई अगाडी बढाउन नसकेका पूर्ण बहादुर अब उच्च शिक्षा हासिल गर्ने सोँचमा हुनुहुन्छ । जेनतेन दुख सुख गरेर छोरा छोरीको पढाइ लेखाइ गरि उनीहरुको हुकाईपछि पूर्ण बहादुर, अब पारिवारिक बोझ कम भएको महसुस गर्दै आफ्नो पढ्ने रहरलाई पुरा गर्न कलेजमा नियमित हुन थाल्नुभएको हो ।
६ वटा छोरा छोरीका बुबा पुुर्ण बहादुरका चार छोरीहरू र दुई छोरामध्ये जेठी छोरी सपना करार अनमीको रुपमा कार्यरत हुनुहुन्छ । माइली छोरी भावनाले कृर्ष जेटीए पास गरेकी छन् । साइँली छोरीले पनि भेटनरी जेटिए पास गरेकी हुन । कान्छी छोरी कक्षा ८ मा र जेठो छोरो कक्षा १० मा पढ्छन् । कान्छो छोरो भने कक्षा १ मा पढ्दै गरेको पूर्ण बहादुरले बताउनुभयो । क्याम्पस भर्ना भएपछि घरमा उहाँकी श्रीमती बाहेक सबै स्कुले विद्यार्थी जस्तै भएका छन् । जेठी छोरी सपना र माइली छोरी भावनासँग अहिले पूर्ण बहादुर वि एड अध्ययनरत हुनुहुन्छ ।
छोरीहरूसँगै क्याम्पस गइरहँदा विद्यार्थिहरुको समूहमा आफ्नो उमेर नमिल्दो देखिएपनि आफूलाई कुनै सङ्कोच नलाग्ने पूर्ण बहादुरले बताउनुभयो । पढ्ने रहर अनी जसरी नी कलेज तह पार गरेरै छाड्ने अठोट अघि अरूले खिसीटिउरी गर्लाकी भन्ने भय गौण भएको उहाँको भनाई छ ।
ब्याचलर पास गर्छु भन्ने मलाइ ठुलो इच्छा छ म पास गर्छु । दुवै छोरीहरूसँगै वि एड पढी रहेकी हुँदा आफुलाई पढाइमा सरसल्लाह गर्न सजिलो भएको समेत उहाँले बताउनुभयो । ६ सन्तानसँगै एकै घरमा एक-अर्काको सहयोगी बनी आफ्ना किताबहरू पढ्दा घरमा रमाइलो शैक्षिक वातावरण हुने गरेको उहाँले सुनाउनुभयो ।
घरमा सहयोगी मान्छे नभएको हुुदाँ गरिबी र आर्थिक समस्या भएकाले पुुर्ण बहादुर ले एसएलसी पास गरे पछि पढाइ भन्दा पनि सानोतिनो पैसो कमाउने,घरखर्च चलाउने कामलाई नै जोड दिनुभएको थियो । छोराछोरीको लुगाफाटो र घर चलाउने चिन्तामै आफ्नो उर्वर समय बिताउनुभएका उहाँले एसएलसी पास गरेपछि २०५७ सालमा उदय हिमाल नेटवर्कमा समूह परिचालकको रुपमा काम गर्नुभयो ।
सिर्जना महिला समूह, हुलिया मुक्ति समाज , दलित पाश्र्व चित्र निर्माण , सुधार नेपाल जस्ता संघ सस्थाहरुमा समेत क्रियाशील रहनुभएका उहाँले गाउँको विद्यालयमा शिक्षक पेशा समेत गर्नुभयो ।
अहिले दलित सहयोग समाज संस्थामा सामाजिक परिचालकको काम गरि रहेको बताउँदै उहाँले म्यादी प्रहरी समेत भएको स्मरण गर्नुभयो । आफूले जीवनमा धेरै दुख कष्ट पाएको स्मरण गर्दै आफ्नो सङ्घर्षका कारण अहिले आफ्ना सन्ताहरु सही बाटोमा रहेको बताउँदै यसैमा आफु धेरै खुसि र सन्तुष्ट रहेको उहाँले बताउनुभयो ।
सामाजिक संघ सस्थाहरुमा काम गर्दा आफूले धेरै अनुभव लिएको तर आफूसँग शैक्षिक योग्यता नै चाहिने रहेछ भनेर महसुस गरेपछि चालिस भन्दा माथिको उमेर पुग्दै गरेपनि शिक्षा लिन कुनै उमेरले नरोक्ने मनन गर्दै आफु कलेजमा भर्ना भएको उहाँले सुनाउनुभयो । शैक्षिक योग्यता नै जीवनको आधार भएकाले ब्याचलर तहको पढाइ पास गर्न पाए हुन्थ्यो भन्ने आफ्नो मनसाय रहेको उहाँले सुनाउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्