गेटामा तीन सय शय्याको अस्पताल सञ्चालनको तयारी
धनगढी । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गेटामा तीन सय शय्याको अस्पताल सञ्चालनको तयारी भइरहेको बताउनु भएको छ ।
आज कैलाली स्थित गेटा अस्पतालको अनुगमन निरीक्षण गर्नुहुँदै मन्त्री पौडेलले तीन सय शय्याको अस्पताल सञ्चालन गर्नका लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्था गरिने बताउनुभयो ।
उहाँले अस्पताल सञ्चालनका लागि १० जना चिकित्सक, २० जना नर्सिङ कर्मचारी र प्राविधिक टोलीलाई सरकारले चाडै गेटामा पठाउने जानकारी दिनुभयो ।
मन्त्री पौडेलले गेटाको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) तयारी थालिएको उल्लेख गर्नुहुँदै गेटामा स्वास्थ्य विज्ञान विश्व विद्यालयको प्रक्रियामा रहेको बताउनुभयो ।
“गेटामा विश्व विद्यालयको काम रोकिने छैन, तीन सय शय्याको अस्पताल सञ्चालन पनि गर्छौ, एमबिबिएसको अध्यापन सुरु गरौँ, यसमा सरोकारवाला सबै लागौँ, उहाँले भन्नुभयो “।
मन्त्री पौडेलले स्वास्थ्य उपचार सेवा प्रभावकारी बनाउन र जनताले सहज रुपमा उपचार पाउने गरि काम गर्न मातहतका निकायलाई निर्देशन दिनु भयो । गेटामा मेडिकल सञ्चालनका लागि भन्दै करिब ७ अर्ब लगानीमा ४० वटा भौतिक पूर्वाधारका संरचना निर्माण भएको छ । हाल गेटामा एक सय शय्याको अस्पताल सञ्चालनमा रहेको छ । सरकारले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय बनाउनका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ ।
प्रतिक्रिया राख्नुहोस्