पत्रकारको हकहित तथा अधिकारका क्षेत्रमा महासङ्घ लाग्नुपर्नेमा जोड
आगामी तीन वर्षको कार्ययोजना निर्माण
काठमाडौँ । नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकको आगामी तीन वर्षको कार्ययोजना सम्बन्धी रणनीतिक योजना कार्यशाला सम्पन्न भएको छ ।
आइतबार र सोमबार पनौतीस्थित थुम्की रिसोर्टमा सम्पन्न कार्यशालामा प्रस्तुत सल्लाह, सुझाव समेतका आधारमा महासङ्घले ३ वर्षको लागि कार्ययोजना तयार गरेको छ ।
सो अवसरमा शाखाका पूर्व अध्यक्ष एवं सल्लाहकार परिषद् सदस्य भोजराज तिमिल्सनाले पत्रकारको वृत्ति विकास, क्षमता बिकास, पत्रकारको हकहित तथा अधिकारका क्षेत्रमा महासङ्घ लाग्नुपर्ने भन्नुहुँदै पत्रकारको हकहित संरक्षण, तथा आपत् विपद् पर्दा महासङ्घ अगाडि देखिन जरुरी रहेको बताउनुभयो । महासङ्घलाई आवश्यक पर्दा आफू जतिबेला पनि सहयोग गर्न तत्पर रहेको बताउँदै गर्नुहुँदै उहाँले पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम लगायतका कार्यमा आफू सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
पूर्व अध्यक्ष तिमल्सिनाले पत्रकारिता नै गर्छु भनेर मन देखिनै पत्रकारिता गर्ने हो भने यसमा सम्भावना प्रशस्त रहेको बताउनुभयो । उहाँले पीडितको पक्षमा केन्द्रित रहेर पत्रकारिता गर्नुपर्ने बताउनुभयो । उहाँले अघिल्लो पुस्ताले गरेको अपेक्षालाई मर्न नदिन महासङ्घलाई आग्रह समेत गर्नुभयो ।
पूर्व अध्यक्ष एवं सल्लाहकार परिषद् सदस्य ईश्वरीप्रसाद ओझाले पत्रकारिता पेसालाई समयअनुसार परिमार्जन गर्दै जान जरुरी रहेको बताउनुभयो । उहाँले आधुनिकताको विकाससँगै पछिल्लो समय बिभन्न क्षेत्रहरूमा भइरहेको डिजिटलाइजेसनले अब हामीले परम्परागत रुपमा नै पत्रकारितामार्फत अगाडि सक्ने अवस्था नरहेको बताउनुभयो ।
उहाँले पछिल्लो समय कसलाई पत्रकार मान्ने कसलाई नमान्ने भन्ने चुनौती रहेको भन्नुहुँदै राज्यको नीति नियम, राज्यको पोलिसिभित्र रहेर जो सदस्य भएका छन्, जसले कामहरू पनि गरिरहेका छन् ती सबै पत्रकार भएको बताउनुभयो । उहाँले महासङ्घमा आवद्ध हुन नसकेका सबै क्रियाशील पत्रकारलाई समेट्ने गरी अगाडि बढ्न आग्रह गर्नुभयो ।
पूर्व अध्यक्ष एवं सल्लाहकार परिषद् सदस्य भोला थापाले पत्रकारिताको विगतदेखि कायम रहेको गरिमालाई कायम राख्ने गरी कार्य गर्न आग्रह गर्नुभयो ।
पूर्व अध्यक्ष एवं सल्लाहकार परिषद् सदस्य महेशराज पौडेल नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकलाई नमुना पत्रकार महासङ्घ बनाएर लैजाने आफूहरूको चाहना रहेको भन्नुहुँदै त्यही अनुसार अबको नेतृत्वले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भूमिका केन्द्रित गरेर महासङ्घले आफ्नो गतिविधि अगाडि बढाउन सुझाव दिनुभयो ।
पूर्व अध्यक्ष एवं सल्लाहकार परिषद् सदस्य नारायण सापकोटाले पत्रपत्रिका, रेडियो, अनलाइन लगायतका सञ्चार माध्यमको संरक्षणको भूमिका पनि महासङ्घले गर्नुपर्ने बताउनुभयो । उहाँले पेसागत हक हित र नयाँ आउने पत्रकारका लागि रोजगारमा जोड दिन जरुरी रहेको बताउनुभयो ।
पूर्व अध्यक्ष एवं सल्लाहकार परिषद् सदस्य मोतिराम तिमल्सिनाले पूर्वाधारको क्षेत्र, पत्रकारको वृत्ति बिकास, र दुःख पर्दा, संकट पर्दा काम गर्न सक्ने हिसाबको गरी तीन वटा क्षेत्र छुटयाएर काम गर्न महासङ्घलाई सुझाव दिनुभयो ।
उहाँले विगतमा कोरोना, बाढी, पहिरो, भूकम्पजस्ता विपत्तिमा पत्रकारले भोगेको अनुभवको स्मरण गर्नुहुँदै विपत्तिमा पत्रकारलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने कुराको दीर्घकालीन योजना बनाउन आवश्यक रहेको बताउनुभयो ।
पूर्व अध्यक्ष एवं सल्लाहकार परिषद् सदस्य, बद्रीप्रसाद तिमल्सिनाले पछिल्लो समय नेपाल पत्रकार महासङ्घलाई स्वीकार गर्ने तर पत्रकारलाई बेवास्ता गर्ने प्रवृत्ति बढ्दै भएको भन्नुहुँदै महासङ्घलाई र पत्रकारलाई हेर्ने दृष्टिकोणमा आएको परिवर्तनलाई चिर्न जरुरी रहेको बताउनुभयो ।
अग्रज पत्रकार मधुसुदन गुरागाईँले हामीले बिटमा कहिल्यै काम गरेनौँ भन्नुहुँदै पत्रकारले बिटमा केन्द्रित रहेर आफ्नो लेखन कार्यलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । विभिन्न बाध्यताले हामीले सबै क्षेत्रमा काम गर्नुपर्ने अवस्था रहेकोले एउटा कुरामा दक्खल बनौँ, अरू कुरा जानी राखौँ भन्नुहुँदै उहाँले अब हामीले आफ्नो चासो रहने कुनै बिटलाई केन्द्रित गरेर काम गर्नु आवश्यक रहेको बताउनुभयो ।
प्रेस चौतारी नेपालका काभ्रेपलाञ्चोकका अध्यक्ष भुवन रायमाझीले पत्रकारितामा नयाँ आउने सम्भावना कम, आएकालाई टिकाउन गाह्रो अवस्था रहेको भन्नुहुँदै नयाँलाई कसरी आकर्षित गर्ने र आएकालाई कसरी लामो समयसम्म व्यावसायिक पत्रकारितामा टिकाई राख्ने भन्ने बहस जरुरी रहेको बताउनुभयो । उहाँले महासङ्घको अबको कार्यसमितिलाई असफल हुने छुट नभएको भन्नुहुँदै संघ, सङ्गठनको तर्फबाट गर्ने सहयोग तथा सहकार्य सधैँ रहने बताउनुभयो ।
महासङ्घकाे आगामी तीन वर्षको कार्ययोजना निर्माण
महासङ्घले कार्यशालामा प्रस्तुत सल्लाह, सुझाव समेतका आधारमा ३ वर्षको लागि कार्ययोजना बनाएको छ ।
कार्यशालाले नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकको भवन निर्माणलाई ३ महिनाभित्र पूर्णता दिने, निर्माणाधीन वेबसाइट ३ महिनाभित्र नै पुरा गरी पुराना अभिलेख, पत्रकार महासङ्घका सदस्यहरूको डिजिटल प्रोफाइलसहित महासङ्घका सम्पूर्ण गतिविधि र जानकारीहरू प्रकाशन गरिने, जिल्लास्थित सञ्चार माध्यमको संस्थागत विकास, व्यावसायिक उन्नयनको लागि महासङ्घबाट समन्वयकारी भूमिका निर्वाह गरिने, लोककल्याणकारी विज्ञापन लगायतका विषयमा समन्वय गरिने योजना बनाएको छ ।
यस्तै, वार्षिक रुपमा कम्तीमा दुई पटक विभिन्न सङ्घसंस्था तथा स्थानीय सरकारसँगको सहकार्यमा पत्रकारहरूका लागि क्षमता अभिवृद्धिको लागि विधागत तालिमहरू सञ्चालन गर्ने, पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकको कार्यालयमा ऐतिहासिक दस्ताबेज, पत्रिका एवं पुस्तकहरूसहितको लाइब्रेरी स्थापना गर्ने, शाखाको स्थापनादेखि हालसम्म भएका सम्पूर्ण बैठकका निर्णयहरूको अभिलेखीकरण गर्ने योजना महासङ्घको छ ।
त्यसैगरी, विगतमा प्रदान गर्दै आएका पुरस्कार एवं सम्मान कार्यक्रमलाई निरन्तरता दिने, जिल्लाका सबै स्थानीय सरकारहरूसँगको सहकार्यमा जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरूसँग स्थानीय तहका सवालहरूमा अन्तरक्रिया, अभिमुखीकरण तालिम लगायतका कार्यक्रम सञ्चालन गर्ने,. पत्रकारिता क्षेत्रमा महिला तथा दलित, जनजाति लगायतका समुदायको उपस्थितिलाई बढाउन सरोकारवालाहरूसँगको सहकार्यमा कार्यक्रम गर्ने, सञ्चारिका समूह, क्रियाशील पत्रकार महिला लगायतका पत्रकार क्रियाशील पत्रकार महिलासँग सम्बन्धित संघ संस्थासँगको सहकार्य र समन्वयमा तालिम, अन्तरक्रिया लगायतका विशेष कार्यक्रम सञ्चालन गर्ने योजना महासङ्घको छ ।
त्यस्तै, पत्रकारसँग सम्बन्धित विभिन्न सङ्गठनसँगको सहकार्य र समन्वयलाई विशेष जोड दिँदै समय समयमा छलफल अन्तरक्रिया लगायतका कार्यक्रम सञ्चालन गर्ने, रु. ५ लाखको कल्याणकारी कोषलाई तीन वर्षभित्र १५ लाख रुपैयाँको बनाउन जोड दिने, ६५ वर्ष पुगेका ज्येष्ठ पत्रकारका लागि वृत्ति प्रदान गर्न कोष स्थापना गर्ने योजना कार्यशालाले बनाएको छ ।
जिल्लामा सञ्चालित सञ्चारमाध्यममा जनशक्ति व्यवस्थापन, रोजगारी सिर्जना, खोज, अनुसन्धान लगायतका कार्य गर्न आमसञ्चार तथा पत्रकारिता पढाई हुने शैक्षिक संस्थाहरूसँग सहकार्य अघि बढाइने, खोज, अनुसन्धान र लेखन क्षमता अभिवृद्धिको लागि लेखन वृत्ति, प्रोत्साहन रकम प्रदान गरिने, र विभिन्न संघ संस्थासँगको सहकार्यमा पत्रकारको दुर्घटना बिमा, स्वास्थ्य बिमा लागू गरिन जस्ता योजना कार्यशालाले बनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्