तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीका २० वटा पालिकामा अझै आयुर्वेद सेवा पुग्न सकेन

सुर्खेत । कर्णालीमा पछिल्लो समय आयुर्वेद स्वास्थ्य सेवा लिनेको सङ्ख्या दिनप्रतिदिन निकै बढ्दो छ । 

प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका अनुसार कर्णालीमा वार्षिक ४ लाख नागरिकले सरकारी निकायबाट आयुर्वेद चिकित्सा सेवा लिँदै आइरहेका छन् । 

सेवा लिनेको सङ्ख्या दैनिक बढ्दै गएपनि सरकारले भने सेवा बढाउन सकेको छैन । अझैपनि कर्णाली प्रदेशका २० वटा स्थानीय पालिकामा आयुर्वेद सेवा पुग्न नसकेको प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका निर्देशक डा. शङ्करप्रसाद रिजालले बताउनुभयो । 

उहाँले प्रदेशका ७९ पालिका मध्ये ५९ वटा पालिकामा मात्र आयुर्वेद सेवाको पहुँच पुगेको जनाउनुभयो । उहाँका अनुसार ती मध्ये प्रदेशका १८ वटा पालिकामा आयुर्वेदको आफ्नै संरचना छन् भने ४१ वटा पालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा छन् । 

“देश संघीय संरचनामा गएपछि कर्णालीमा आयुर्वेद तथा प्राकृतिक चिकित्साले तुलनात्मक रूपले धेरै फड्को मारेको छ”, उहाँले भन्नुभयो, “तर जुन रफ्तारले कर्णालीमा आयुर्वेद चिकित्साले गति समात्नु पर्थ्यो त्यो हुन सकेको छैन । त्यसका लागि पर्याप्त बजेटसँगै विज्ञ जनशक्ति व्यवस्थापन मुख्य चुनौती हो ।”

उहाँका अनुसार सरकारले उपलब्ध गराउँदै आइरहेको आयुर्वेद औषधिले ६ महिना मात्रै धान्दै आइरहेको छ । उहाँले संघीय संरचनाकै तर्जुमा अनुसार कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय अन्तर्गत रहेको आयुर्वेद तथा विविध चिकित्सा शाखा नै खारेज हुँदा थप जटिलता बढेको बताउनुभयो । “संघ, प्रदेश र स्थानीय पालिका वीचको समन्वयकारी भूमिका खेल्दै आइरहेको आयुर्वेद तथा विविध चिकित्सा शाखा नै खारेज हुँदा जिल्ला तथा पालिकाले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी तथ्याङ्क, सूचना, प्रतिवेदनलगायत कार्यहरू नहुँदा समस्या भइरहेको छ ।”, उहाँले भन्नुभयो । 

नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेशले शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘कर्णाली आयुर्वेद स्मारिका विमोचन कार्यक्रम’मा शुभकामना मन्तव्य दिँदै निर्देशक डा. रिजालले कर्णाली जडीबुटी र आयुर्वेदका लागि उर्वर र सम्भावनाले भरिपूर्ण क्षेत्र मानिए पनि पर्याप्त लगानीसँगै योजनाबद्ध तरिकाले अघि बढ्न आवश्यक रहेको औँल्याउनुभयो । 

कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकार निरन्तर प्रयासरत रहेको बताउनुभयो । 

आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिको विकासकाका लागि सरकारले वर्षेनी भौतिक पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापनमा जोड दिइरहेको बताउँदै उहाँले नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार संवेदनशील रहेको जनाउनुभयो । 

उहाँले उपलब्ध साधन स्रोतको अधिकतम् परिचालन गर्दै नागरिकका अपेक्षा तथा आवश्यकताहरू पुरा गर्न प्रदेश सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रमा कर्णाली आधारित निरन्तर अनुसन्धान तथा अन्वेषण गर्न आवश्यक प्रक्रिया अघि बढाएको बताउनुभयो । 

नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णालीका अध्यक्ष छविलाल खड्काले ‘कर्णाली आयुर्वेद स्मारिका’ पुस्तक आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रका विभिन्न अनुभव तथा समय सापेक्ष लेख तथा रचनाहरूको सङ्ग्रह रहेको बताउनुभयो । अब आउँदा दिनहरूका अङ्कमा कर्णालीको आयुर्वेद क्षेत्रको खोज एवम् अनुसन्धानका विषय वस्तुहरू समेटिने जनाउँदै उहाँले पुस्तकमा कर्णालीको आयुर्वेद क्षेत्रका सम्भावना, हाल गरिएका प्रयास, चुनौती र आगामी रणनीतिका बारेमा सरकारलाई सुधारात्मक लेखहरू रहेको जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button