भ्रष्टाचारलाई निर्मूल गर्ने गरी सरकारले तीव्र गतिमा काम गरिरहेको छ : प्रवक्ता गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले समाजमा रहेका विकृति, विसङ्गति, अन्याय, अत्याचारको अन्त्य गर्दै भ्रष्टाचारलाई निर्मूल गर्ने गरी तीव्र गतिमा काम गरिरहेको बताउनुभएको छ ।
सुदूरपश्चिममा बनाइने ‘भुवो’ पर्वको अपसरमा नेकपा (एमाले) बझाङ–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा शुभकामना व्यक्त गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका गुरुङले सुदृढ र अनुशासित एमाले पार्टी निर्माणका लागि लाग्न पार्टी कार्यकर्तालाई अपिल गर्दै मुलुकको प्रगति र समुन्नतिका लागि सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
“खासगरी सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्ने गरी सरकारले काम गरिरहेको छ, सहकारीमा बचतकर्ताको बचत अनियमितता भइरहेको छ, त्यसलाई समाधान गर्ने गरी अत्यन्त समस्याग्रस्त २२ वटा सहकारीको अनुसन्धानका लागि प्रतिनिधि सभामा अधिकार सम्पन्न समस्याग्रस्त सहकारी छानविन समितिको प्रतिदेवको आधारमा छानविन गर्ने काम भइरहेको छ”,उहाँले भन्नुभयो । प्रतिवेदनले लक्षित गरेका संस्था र व्यक्तिलाई सरकारले छानबिनको क्रम सुरु गरेको र छानबिनको क्रममा गल्ती ठहरिएको खण्डमा सडकमा हुने कुनै पनि आन्दोलनले उन्मुक्ति नहुने उहाँको भनाइ छ ।
मन्त्री गुरुङले सहकारीको रकम ठग्ने, सहकारीलाई बदनाम बनाउने दोषीमाथि सरकारले जसरी भएपनि कारबाही गर्ने बताउँदै ढिलो चाँडो सम्पूर्ण बचतकर्ताको बचत रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
२२ वटा सहकारीमा ६९ हजार बचतकर्ताको बचत हिनामिना भएको जानकारी दिँदै उहाँले त्यो हिनामिना भएको रकम फिर्ता गराउने काममा सरकार लागि परेको बताउनुभयो । अहिलेसम्म करिब ६ हजार जना बचतकर्ताको बचत रकम फिर्ता गरिसकेको र आठ हजार बचतकर्ताको करिब ७० प्रतिशत रकम फिर्ता गरिसकेको र ३० प्रतिशत मात्रै बाँकी रहेको उहाँको भनाइ छ ।
मन्त्री गुरुङले संसद् नबसेको अवस्थामा तत्काल सहकारी पीडितको समस्या समाधानका लागि अध्यादेश मार्फत सहकारीसम्वन्धि विभिन्न कानुनको एकीकरण गर्न बनेको अध्यादेश राष्ट्रपतिबाट जारी भइसकेको पनि जानकारी दिनुभयो । मुलुकमा सुशासन कायम गर्दै आर्थिक समृद्धिमा योगदान पुर्याउनका लागि सरकारले काम गरिरहेको उहाँले बताउनुभयो ।
नेकपा (एमाले) का सचिव लेखराज भट्टले बझाङ लगायतमा मनाइने ‘भुवो’ पर्व पछिल्लो समयमा लोप हुँदै गएको बताउँदै त्यसको संरक्षण र उजागर गर्नका लागि सबै लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्