तपाईँ सुन्दै हुनुहुन्छः

‘शिक्षण सिकाई क्रियाकलापलाई नयाँ युग अनुसार बदल्न जरुरी’

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षण सिकाई क्रियाकलापलाई नयाँ युग अनुसार बदल्न जरुरी रहेको बताउनुभएको छ ।

लुम्बिनी वर्ल्ड स्कुलले तिलोत्तमामा आयोजना गरेको तेस्रो टिचिङ लर्निङ्ग एक्स्पो २०८१ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आधारभूत तहबाटै विद्यार्थीहरूलाई खोज अनुसन्धानको माध्यमबाट शिक्षण सिकाई गर्ने गरी भूमिका बढाउन जरुरी रहेको बताउनुभयो ।

‘अध्ययन, अनुसन्धान अव नयाँ युग अनुसार चल्न र चलाउन जरुरी छ । सिपयुक्त जनशक्तिले स्वरोजगार र उद्यमशीलता बढाउँछ’ उहाँले भन्नुभयो,–‘युगले खोजेको जनशक्ति अव दक्ष र सिपयुक्त हो । त्यही अनुसार शिक्षण प्रणालीको विकास गर्न जरुरी छ ।’ दक्ष, आत्मनिर्भर र सिपयुक्त जनशक्ति उत्पादन तीन तहकै सरकारको प्राथमिकतामा रहेको बताउँदै विद्यार्थीहरूको क्षमता अभिवृद्धिलाई केन्द्रमा राखेर विद्यालयहरूले शिक्षण सिकाई गर्न जरुरी रहेको धारणा उहाँले राख्नुभयो । प्रदेश सरकारले गुणस्तरीय र सिपयुक्त जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेर नीति निर्माण गरेको जानकारी दिँदै उहाँले शैक्षिक गुणस्तर बढाउने विषय सबैको साझा भएको बताउनुभयो ।

विद्यार्थीको मनोभावना बुझेर शिक्षण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उहाँले हरेक विद्यालयले विद्यार्थीको रुचिको आधारमा अध्ययन, अनुसन्धानको काममा संलग्न गराउनुपर्नेमा जोड दिनुभयो । विद्यालयले टिचिङ लर्निङ्ग एक्स्पो मार्फत विद्यार्थीले तयार पारेका विज्ञान तथा प्रविधिसँग जोडिएका सामाग्री सार्वजनिक गरिएको हो ।

मुख्यमन्त्री आचार्यले विद्यार्थीहरूको मेहनतको उच्च प्रशंसा गर्दै निरन्तरताको कामना गर्नुभयो । विद्यालयले बालबालिकालाई सशक्त बनाउन उनीहरूको शैक्षिक क्षमता र सामाजिक जिम्मेवारी भावनाको विकास गर्ने गरी अध्यापन गराउँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button