काठमाडौँ शिक्षालय ललितपुरले विशेष कार्यक्रम गरी राष्ट्रिय टोपी दिवस र नयाँ वर्ष मनायो

ललितपुर । काठमाडौँ शिक्षालय ललितपुरले आज अङ्ग्रेजी नयाँ वर्ष सन् २०२५ को दिन एक विशेष कार्यक्रम गरी राष्ट्रिय टोपी दिवस, राष्ट्रिय पोशाक दिवस र नयाँ वर्ष मनाएको छ ।
ललितपुर इमाडोलमा रहेको शिक्षालयले जापानी स्काउट लिडरहरूलाई समेत उक्त कार्यक्रममा सहभागी गराई कार्यक्रम सम्पन्न गरेको हो । शिक्षालयका प्रिन्सिपल प्रेमलता श्रेष्ठले जापानी स्काउट अतिथिहरूलाई टीका लगाइदिनु भएको थियो ।
कार्यक्रममा जापानी स्काउटहरूलाई नेपाली ढाकाटोपी लगाइदिँदै शिक्षालयका अध्यक्ष पर्वतारोही प्रकाश राज पाण्डेले देशको भेषभूषा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्न पाउँदा खुसी व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा शिक्षालयका पदाधिकारी, शिक्षक तथा विद्यार्थीहरू ढाकाटोपी सहितको नेपाली पोशाक र विभिन्न भेषभूषामा कार्यक्रममा उपस्थित भएका थिए ।

विगत ५ वर्षदेखि वर्षेनि नेपाल भ्रमणमा आउने जापानी स्काउटको टोली यसवर्ष पनि ताकाफुमी हिदाको नेतृत्वमा ९ सदस्यीय टोली नेपाल भ्रमणमा आएको छ । भ्रमण टोलीका टोली नेता ताकाफुमी हिदाले कार्यक्रममा आफ्नो धारणा राख्दै यस प्रकारका कार्यक्रमले दुई स्काउट संस्थाका सदस्य बीच मात्र नभई दुई देशको दौत्य सम्बन्धमा समेत मलजल गर्ने बताए । दुई देश लामो समयदेखि एकअर्काको मित्र रहेकोले दुवै देशको साँस्कृतिक र सामाजिक पक्षको बारेमा नागरिक तहमा आदानप्रदान हुनु राम्रो पक्ष भएको पनि उनले बताए । भ्रमणमा रहेको जापानी स्काउट दलले ललितपुरको मेट्रो स्काउट क्र्युलाई सहयोग स्वरूप टिसर्ट हस्तान्तरण समेत गरेको थियो ।
ग्रेगोरियन पात्रो अनुसार विश्वका अधिकांश देशमा जनवरी महिनाको पहिलो दिनमा नयाँ वर्ष मनाउने गरिन्छ भने यसै दिनको अवसर पारेर नेपालमा नेपालीहरूको चिनारीको रुपमा रहेको ढाकाटोपी र नेपाली पोशाक दिवसको रुपमा मनाउने गरिएको छ ।
शिक्षालय व्यवस्थापन समितिका अध्यक्ष पर्वतारोही प्रकाश राज पाण्डेले शिक्षालयमा गुणस्तरीय अध्ययन अध्यापनका अलावा यस प्रकारका विभिन्न साँस्कृतिक, सामाजिक खालका कार्यक्रमहरू आयोजना गर्ने गरिएको बताउनुभयो । यस प्रकारका कार्यक्रमले नेपाली पर्यटनको प्रवर्द्धनमा सहयोग पुग्ने र विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन शिक्षालयले महत्त्वपूर्ण भूमिका खेल्ने कुरा बताउनुभयो ।










प्रतिक्रिया राख्नुहोस्