संसदीय समितिको क्यालेन्डर बनाउन उपसमिति गठन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले समितिको क्यालेन्डर बनाउन उपसमिति गठन गरेको छ ।

समितिको आज बसेको बैठकले समितिको काम कारबाहीलाई प्रभावकारी बनाउनका लागि क्यालेन्डर बनाउन पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।
उपसमितिमा नेपाली कांग्रेसका तर्फबाटबाट दिनेशकुमार यादव, नेकपा एमाले तर्फबाट ठाकुरप्रसाद गैरे, नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट निशा डाँगी र राप्रपाबाट विना लामा सदस्य रहनुभएको छ ।
समितिमा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले क्यालेन्डर नहुँदा कोरम नपुगेर बैठक बस्न नसकेको र सांसदको दैनिकी पनि प्रभावित भएको भन्दै समितिको प्रभावकारिताका लागि क्यालेन्डर बनाउन प्रस्ताव गर्नु भएको थियो ।
समितिका अन्य सदस्यहरुले पनि समितिको कामकारबाहीलाई प्रभावकारी बनाउन क्यालेन्डर निर्माण गरेर अगाडी बढ्नु पर्ने विषयमा सहमति जनाएपछि दलीय आधारमा उपसमिति बनाइएको हो ।

समितिको बैठक बस्न कोरम नपुग्ने, सूचना समयमा नआउने, बाहिर भएको समय बैठक पर्नेजस्ता समस्या क्यालेन्डर बनेपछि अन्त्य हुने र क्यालेन्डर सहमतिमा बनाएपछि त्यो पालना नगर्ने सांसद स्वयम् जिम्मेवार हुनुपर्ने विषयमा समेत सांसदहरुले जोड दिनुभएको छ ।
समितिमा छलफलमा रहेका विधेयकमाथि छलफल गरि छिटो टुङ्गोमा पुर्याउने, समितिमा परेका उजुरीहरूमाथि प्राथमिकताका आधारमा छलफल अगाडी बढाउनु पर्ने, पहिलो चौमासिक कै मुल्याङ्कनका आधारमा रकमान्तर भएको भनिएको विषयमा सम्बन्धित मन्त्रीलगायत सम्बद्ध पक्षसँग छलफल गरेर अगाडी बढ्ने विषयमा सहमति भएको छ ।








प्रतिक्रिया राख्नुहोस्