ओलम्पिक कमिटीलाई कारबाही गर्ने मन्त्री चौधरीको चेतावनी
पोखरा । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सर्वोच्च अदालतको आदेश र सरकारको निर्देशन विपरीत अघि बढेको नेपाल ओलम्पिक कमिटीलाई कारबाही गर्ने चेतावनी दिनु भएको छ । आइतबार पोखरामा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री चौधरीले राज्यको नियम र कानून पालना नगर्ने कमिटी तथा व्यक्तिहरूलाई सरकारले कारबाही गर्ने चेतावनी दिनु भएको हो ।
तीन दिनको स्पष्टीकरण माग गरेको बताउँदै मन्त्री चौधरीले कस्तो जवाफ आउँछ त्यसको आधारमा कारबाही गर्ने जनाउनु भयो । २७ वटा सङ्घहरू मध्यबाट २० वटाले अनलाइन मार्फत भोटिङ गरेको बताउँदै मन्त्री चौधरीले प्रधानमन्त्री सहित विज्ञसँगको सल्लाह गरेर कारबाही प्रक्रिया अघि बढ्ने बताउनु भएको हो ।
सर्वोच्च अदालतको आदेश र सरकारको निर्देशन विपरीत नेपाल ओलम्पिक कमिटी (एनओसी) ले शनिबार निर्वाचन गरेको थियो । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै शनिबार तय भएको निर्वाचन नगर्न आदेश दिएको थियो भने एनओसी नेतृत्वले अनलाइनमार्फत निर्वाचन गरेको थियो ।
निर्वाचन रोक्न सर्वोच्च अदालतको आदेशसँगै निर्वाचनमा सहभागी नहुन युवा तथा खेलकुद मन्त्रालयले समेत निर्देशन जारी गरेको थियो । अवैधानिक तरिकाले विधान संशोधन गरेर घोषणा गरेको चुनावमा आफू अनुकूलका प्रतिनिधि छनोट गरेर नेपाल ओलम्पिक कमिटीले शनिबार अनलाइनमार्फत निर्वाचन सम्पन्न गरेको आरोप अर्को समूहले लगाएको छ ।
अनलाइन चुनावबाट जीवनराम श्रेष्ठ फेरि अध्यक्ष बनेको घोषणा गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्