सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले मुलुकमा सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा मन्त्री यादवले नेपालका दुर्गम तथा ग्रामीण क्षेत्रहरूमा अहिले पनि नागरिकले पिठ्युँमा खानेपानी बोक्नुपर्ने बाध्यता रहेकाले त्यसको अन्त्य गर्न सरकारले योजना बनाएर कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले खानेपानीको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो ।
मन्त्री यादवले भन्नुभयो, “मुलुकको ग्रामीण बस्तीमा अहिले पनि स्वच्छ खानेपानीको समस्या छ, नागरिकले पिठ्युँमा खानेपानी बोकेर प्रयोग गरिरहनुभएको छ । सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउन मन्त्रालयले योजनाबद्ध रूपमा ठोस कदम चाल्नेछ । पिठ्युँमा खानेपानी बोक्नुपर्ने बाध्यता अन्त्य गरेरै छाड्छु ।”
मन्त्री यादवले देशका अधिकांश ठाउँमा अहिले पनि खानेपानीको सहज पहुँच नरहेकाले ती स्थानमा खानेपानी आयोजना सञ्चालन गरेर घरघरमा धारा र सबै नागरिकमाझ स्वच्छ, सफा खानेपानी पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । जलस्रोतको क्षेत्रमा धनी मुलुक हुँदाहुँदै पनि यहाँका नागरिकले पानीका लागि आन्दोलन गर्नुपर्ने आफैँमा दुःख कुरा हो । वर्तमान सरकारले यो समस्या समाधान गर्नेछ”, उहाँले भन्नुभयो ।
खानेपानीको समस्या बुझी समाधानका उपाय पहिचान गर्न केही दिन पहिले तराई, पहाडी र हिमाली क्षेत्रमा गई स्थलगत अनुगमन गरेर फर्किएकाले तत्काल योजना बनाएर कार्यान्वयन गरी आफ्नै कार्यकालमा विद्यामान समस्या समाधान गर्न दीर्घकालीन रूपमा समस्या समाप्त गर्ने मन्त्री यादवले दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “जलवायु परिवर्तनले तराईमा पानी सुक्दै गएको छ, पहाड र हिमाली क्षेत्रमा पनि जलवायु परिवर्तनको असर देखिन थालेको छ । खानेपानीको समस्या समाधन गर्नु वर्तमान समयमा गर्न निकै चुनौतीपूर्ण रहे पनि समाधान गर्ने प्रतिबद्धता जनाउँछु ।”
खानेपानीका आयोजना सञ्चालनमा पर्याप्त बजेट व्यवस्था गरी दीर्घकालीन रूपमा समस्या अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्