तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको सप्ताहव्यापी कार्यक्रम समापन

काठमाडौँ । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस अन्तर्गतको सप्ताहव्यापी कार्यक्रम आज समापन भएको छ । 

सुरक्षित आप्रवासको आधार, सूचना र सीप सहितको रोजगार भन्ने राष्ट्रिय नारासहित सप्ताहव्यापी रुपमा मनाउँदै आएको यसबर्षको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस अन्तर्गतको कार्यक्रमहरू आज समापन भएको हो । 

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मूल समारोह समितिले श्रम आप्रवासनका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको सहकार्यमा आप्रवासनका चुनौती र अवसरहरूको बारेमा चेतना जगाउने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको थियो । 

मूल समारोह समितिले ‘आप्रवासी श्रमिक र तिनका परिवारको सामाजिक सुरक्षा’ विषय अन्तरक्रिया गर्दै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको सप्ताहव्यापी कार्यक्रम आज समापन गरेको हो । 

समापन समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले सप्ताहव्यापी कार्यक्रमले आप्रवासी श्रमिकको सुरक्षा र दायित्वबारे चेतना अभिवृद्धिमा सहयोग पु¥याएको बताउनुभयो । 

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२४ मुल समारोह समितिका संयोजक समेत रहनुभएका सचिव निरौलाले आप्रवासी श्रमिकले पठाएको विप्रेषणले मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुगेको बताउँदै आप्रवासी श्रमिकको हित र सुरक्षामा राज्य सचेत रहेको बताउनुभयो । 

समारोहमा वैदेशिक रोजगार बोर्ड सचिवालयका प्रवक्ता टिकाराम ढकालले बोर्डका तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका श्रमिकलाई कल्याणकारी कोषमार्फत सहयोग गरिरहेको बताउनुभयो । 

यसैगरी अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मूल समारोह उपसमिति संयोजक चाँदनी रानाले दिवस अन्तर्गतका सप्ताहव्यापी कार्यक्रम अन्तर्गत महत्वपूर्ण कार्यक्रमहरू भएको र यस्ता कार्यक्रमहरूले वर्षैभरि निरन्तरता पाइरहने जानकारी गराउनुभयो । 

समारोहमा सामाजिक सुरक्षा कोषका निर्देशक उत्तम राज नेपालले वैदेशिक रोजगारीमा रहेका आप्रवासी श्रमिकलाई सामाजिक सुरक्षा कोषमा ल्याउने र उनीहरूले प्राप्त गर्ने सुविधालगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

यही पुस १ गतेदेखि सुरु भएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस अन्तर्गतको सप्ताहव्यापी कार्यक्रम आज समापन गरिएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button