तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा ह्‌वातै बढ्यो मह उत्पादन

डोटी ।  डोटीमा मौरीपालन व्यवसायप्रति किसान आकर्षित हुँदै गएका छन् । गाउँघरमा परम्परागत रूपमा मौरीपालन हुँदै आएको भएपनि केही वर्ष पहिले लोभ हुने संकेत देखिएको थियो । तर अहिले भने जिल्लाका कतिपय क्षेत्रमा किसानहरू परम्परागत मौरी पालनमा फर्किएर मौरीपालन प्रवर्द्धनमा जोड दिइरहेका छन् । 

जिल्लाको बडीकेदार गाउँपालिका ५ लाना रन्तोलाका वीरबहादुर पाल करिब ४ वर्षदेखि परम्परागत तरिकाले मौरीपालन गर्दै आइरहनुभएको छ । उहाँसँग अहिले २० घार मौरी छ । पालले अहिले वार्षिक  १ सय किलो मह उत्पादन गर्दै आइरहनु भएको छ । वर्तमान समयमा गाउँघरमा मह प्रतिकेजी १ हजारको दरले बिक्री वितरण हुने गरेको उहाँको भनाइ छ । 

उहाँका अनुसार मौरीका लागि अनुकूल मौसम नहुँदा मौरीमा विभिन्न किसिमका रोगहरू देखा पर्ने गरेका छन् । उहाँलाई मौरीमा लाग्ने जाले र प्वाँख काटिने रोगले सताएको छ । त्यस्तै हिउँमा खडेरीका कारण मौरी मर्ने गरेको उहाँको भनाइ । उहाँलाई मौरी बचाउन पनि त्यतिकै कठिनाइ छ । मलसाँप्रो र अरिङ्गालले मौरीको घारमा क्षति पुर्‍याउने गरेको छ । 

त्यस्तै जोरायल गाउँपालिका तीन थलीका लिला खड्का पनि ४ वर्षदेखि मौरीपालन गर्दै आएका छन् । उहाँसँग अहिले १० घार मौरी छ । १० घारबाट  करिब २० केजी मह उत्पादन हुने उहाँले बताउनुभयो ।  उहाँको अब आधुनिक तरिकाले मौरीपालन गर्ने योजना रहेको बताउनुभयो ।  

जोरायल गाउँपालिका ३ सेगुनिका का ६० वर्षीय डम्बर मल्ल ५ वर्षदेखि मौरीपालन गर्दै आइरहनुभएका किसान हुनुहुन्छ । उहाँले पनि परम्परागत तरिकाले मह उत्पादन गर्ने गरेको बताउनुभयो ।  उहाँलाई अहिले मह बजारीकरणमा कुनै समस्या छैन । उहाँको मह गाउँमै बिक्री हुने गरेको छ । अरू समय भन्दा असोज कार्तिकको मह बढी उपयोगी हुने गरेको उहाँको भनाई छ । 

मौरीपालन अन्य पालन तथा खेती भन्दा सहज हुने गरेको किसान बताउँछन् । किसान जिल्लामा अहिले प्रतिकेजी ८ सयदेखि १ हजारको दरले किसान मह बिक्री गर्दै आएका छन् ।

ज्ञान केन्द्र र गैरसरकारी संस्था मिलेर अनुदानबाट मौरीपालक र घार वृद्धि गर्दै आएको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थीको भनाइ छ । उहाँकाअनुसार अहिले जिल्ला मह  बजारीकरणमा समस्या छैन । आगामी दिनहरूमा मौरीपालकलाई तालिम र अनुदानको वृद्धि गर्ने अवस्थीले बताएका छन् । उहाँले थप्नुभयो,ू आधुनिक घारमा स्थानीय मौरी नहुने रहेछ, मौरी मर्ने रहेछ, अब पुरानै काठे घारलाई सुधार गरेर मौरीपालनलाई जोड दिन्छौँ ।ू 

साथै अहिले विषादीले गर्दा मौरीमा ठूलो असर पर्ने गरेको निमित्त प्रमुख अवस्थीले बताएका छन् । त्यसैमाथि मौरीको लागि पछिल्लो समयमा चरनको अभाव देखिएको उहाँको भनाइ छ । 

अवस्थीकाअनुसार मौरी महको लागि वरदान मात्रै नभएर खेतीपातीका लागि समेत वरदान छ । मौरीले गर्दा बालीनालीलाई समेत अचुक लाभ पुग्ने गर्छ । मौरीले बालीनालीमा परागसेचन बढाइ उत्पादनमा वृद्धि गर्छ । त्यसैमाथि फलफूल खेतीका लागि समेत मौरी पालन आवश्यक छ । 

मह बिक्री वितरण गर्न बट्टा 

डोटेली महको बिक्री वितरण र प्रचारप्रसारको लागि मौरी पालकलाई कृषि ज्ञान केन्द्र डोटीले ूडोटेली मह नाम बट्टा समेत उपलब्ध गराएको छ । जसले गर्दा किसानलाई डोटेली मह भनिराख्नु परेको छैन र एकपटक खरिद गरेका व्यापारीहरूले पुनः महको माग गरेको किसानले बताएका छन् । 

पछिल्लो ३ वर्षमा डोटीमा मह उत्पादन ह्वात्तै बढ्यो 

डोटीमा पछिल्लो तीन वर्षयता मह उत्पादन ह्वात्तै बढेको छ । कृषि ज्ञान केन्द्र डोटीले दिएको तथ्यांकअनुसार जिल्लामा वर्षेनी मह उत्पादन ह्वात्तै वृद्धि भएको पाइएको हो । 

आर्थिक वर्ष २०७८र०७९ मा ८ सय घारमा ५ हजार ५ सय केजी मह उत्पादन भएको छ । त्यस्तै आर्थिक वर्ष २०७९र०८० मा ३ हजार ६ सय घारमा १८ हजार केजी मह उत्पादन भएको प्राप्त तथ्यांकमा उल्लेख छ । 

यसैगरी गत आर्थिक वर्ष २०८०/०८१ मा ३ हजार ६ सय ८० घारमा २१ हजार ३ सय ४४ केजी मह उत्पादन भएको कृषि ज्ञान केन्द्र डोटीको आँकडामा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button