महिलाको अर्थपूर्ण सहभागिता विना देश समृद्ध बन्न कठिन : मन्त्री साह

जनकपुरधाम । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नबल किशोर साह सुढीले आधा आकाश ओगटेको महिलाको अर्थपूर्ण सहभागिता विना समृद्ध देश बनाउन नसकिने बताउनु भएको छ ।
संघीय महिला मन्त्री साहले मन्त्रालयले आज जनकपुरधाममा आयोजना गरेको जेण्डर बजेटरी योजना तर्जुमा, कार्यान्वयन सम्बन्धि मधेश प्रदेशका विभिन्न पालिकाका उपप्रमुखहरूको सहभागितामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो ।
उहाँले संविधान तथा कानुनीले महिलालाई धेरै अधिकार दिएपनि मधेशका महिलाहरूमा शिक्षा र जनचेतनाको कमी भएका कारणले निक्कै पछाडि परेको बताउँदै महिलालाई अगाडी बढाउने किसिमको बजेट ल्याउनका लागि पालिका उपप्रमुखहरूसँग आग्रह गर्नु भयो ।
महिला तथा बालबालिका मन्त्री साहले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि देशमा धेरै काम गर्न आवश्यक भएपनि मन्त्रालयसँग बजेट कम भएका कारणले चाहेजतिको काम चालु आर्थिक वर्षमा गर्न नसकिने बताउनु भयो ।
मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद कुमार जयसवालले पालिकाका उपप्रमुखहरुलाई संविधानले धेरै अधिकार दिएपनि कतिपय कानूनले त्यसको उपयोग गर्न नपाएकाले त्यसमा संशोधन गर्दै उपप्रमुखहरुलाई अधिकारको किटान गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले नेपालको समृद्धि र विकासका लागि लैङ्गिक मैत्री बजेटको निर्माण गर्न आवश्यक भएको बताउँदै प्रदेश सरकारले ल्याएको बजेट तथा कार्यक्रम लैङ्गिक मैत्री नै भएको दाबी गर्नु भयो ।
कार्यक्रममा सहभागी भएका उपप्रमुखहरूले संविधान तथा कतिपय कानूनले महिलालाई धेरै अधिकार दिएपनि प्रमुखहरूको हस्तक्षेपका कारणले गर्न नसकेको बताउँदै अधिकार किटेर दिनका लागि सुझाव दिनु भएको थियो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेशका अर्थमन्त्रालयका सचिव राम कुमार महतो, मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव चुडामणि फुयाँल सहितका वक्ताहरूले बोल्नु भएको थियो ।
कार्यक्रममा मधेश प्रदेशका ८ जिल्लाका विभिन्न पालिकाहरूका उपप्रमुखहरूको सहभागिता रहेका थिए ।








प्रतिक्रिया राख्नुहोस्