तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक विकासमा ‘भ्यूटावर’को महत्व छ : मन्त्री सिंह

दमक (झापा) । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले दमकमा निर्माण गरिएको व्यावसायिक ‘भ्यूटावर’ले स्थानीय क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस दमक नगर समितिले आज पार्टी कार्यालयमा आयोजना गरेको भेलालाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले यहाँका भ्यूटावरसहित देशभरिका ६ विशेष संरचनाका आयोजना सञ्चालनको चरणमा रहेकाले यसले दूरगामी महत्व राख्ने बताउनुभयो ।

दमक–३ स्थित दापगाछीमा सरकारले निर्माण गरेको १८ तले दमक भ्यूटावर (प्रस्तावित दमक बिजनेस कम्प्लेक्स) को कार्यक्रममा सहभागी हुन आउनुभएका उहाँले राष्ट्रिय गौरवका योजनाका रुपमा रहेका यस्ता सम्पदालाई स्थायी रुपमा सञ्चालन गर्न सरकारले सुरुआत गरेको उल्लेख गर्नुभयो ।

स्थानीय सरकार वा कुन निकायले सञ्चालन गर्ने भन्ने विषयमा अन्योलता सिर्जना भइरहेको बेला उपप्रधानमन्त्री सिंहले बनेका सरंचनालाई प्रयोगमा ल्याउन सरकार स्पष्ट योजनाका साथ सक्रिय भएको बताउनुभयो । कांग्रेसलाई व्यवस्थित बनाउन आवश्यक भएको उहाँले औँल्याउनुभयो । कांग्रेसभित्र देखिएको बेथितिका कारण मुलुक नै अस्थिर हुने विचार राख्नुहुँदै उपप्रधानमन्त्री सिंहले देशलाई विकास र समृद्धिमा लैजान फेरि पनि कांग्रेसकै अगुवाइ हुनुपर्नेमा जोड दिनुभयो । कांग्रेस पार्टी बलियो भए मात्र देशले प्राप्त गरेको अधिकारसहित उपलब्धि संस्थागत गर्न सकिने उहाँको भनाइ थियो ।

सो भेलामा कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू, जिल्ला सभापति देउकुमार थेवे र क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले कांग्रेसले देशकै अगुवाइ गर्न अब सङ्गठित भएर जुट्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button