मुगुमा दूधको माग बढ्दो, उत्पादनमा कमी
मुगु । पछिल्ला केही वर्ष यता मुगु जिल्लामा दूधको माग उच्च दरले बढिरहेको छ । बढ्दो बजारीकरणका साथै जनसंख्याको चाप र उत्पादन घट्दै जाँदा गमगढी बजारमा दूधको माग बढिरहेको छ
विशेष गरी जिल्ला सदरमुकाम गमगढी र छिमेकी गाउँहरूमा दूधजन्य उत्पादनहरूको उपभोग उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ। तर, स्थानीय स्तरमा उत्पादन हुने दूधले बढ्दो मागलाई पूर्ति गर्न नसक्दा उपभोक्ताहरू दूध खानबाट वञ्चित हुनु परेको छ ।
स्थानीय किसानहरूका अनुसार दूध उत्पादनमा कमी हुनुको मुख्य कारण पशुचौपायाको उचित हेरचाह र चरिचरण नहुनु, पर्याप्त घाँस पात अभावका साथै गाई भैँसीको व्यावसायिक पालन नगर्नु, गाई भैँसी पाल्ने किसानको सङ्ख्या घट्नुका साथै हिउँदमा अत्यधिक, चिसो मौसमले पनि गाईबस्तुको दूध उत्पादनमा प्रतिकूल असर पुर्याउनु रहेको छ।
छायाँनाथ रारा नगरपालिका वडा नं ३ माथितुम निवासी भैँसी पालक कृषक प्रकाश रोकायाका अनुसार ‘बर्खा ऋतुमा दूध बढी हुन्छ तर हिउँद लागेपछि चिसो र सुख्खा घाँसपातले दूध कम दिन्छन् । आफ्ना दूध खाने ग्राहकलाई पुर्याउन नसक्दा गुनासो खेप्नु पर्छ ।माग धेरै छ दूध कम हुन्छ के गर्ने ?’
स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकाले पशु बस्तु हेर्ने गुहाला र खर्कालाका लागि केही सहयोग गर्दै आएको भएपनि आगामी दिनमा नगरपालिकाले गाई भैँसी पालक वास्तविक कृषकहरू पहिचान गरी दूध उत्पादन बढाउनका लागि प्रोत्साहन स्वरूप अनुदानमा घाँस,दाना र प्राविधिक सहायता प्रदान गर्ने योजना ल्याउनु पर्ने स्थानीय पशुपालक कृषकहरूको माग छ ।
गमगढीमा दूध र दूध जन्य बस्तुको ब्यवसायिक बजारीकरण लाई बढवा दिनका लागी प्रदेश र स्थानीय सरकारले साथै सम्बन्धित विज्ञहरूको सुझाबलिई कृषकहरूको सहभागितामा ठोस योजना बनाई लागु गर्ने खालका कृषक मैत्री कार्यक्रम ल्याउनु जरुरी छ ।
प्रतिक्रिया राख्नुहोस्