तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो कार्यक्रम ‘प्रदेश डायरी’ प्रसारण गर्ने सम्झौता

विराटनगर । रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम र आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश विराटनगरबीच रेडियो कार्यक्रम ‘प्रदेश डायरी’ प्रसारण गर्ने आज सम्झौता भएको छ । 

कोशी प्रदेश सरकारका फोकस कार्यक्रमहरू तथा महत्वपूर्ण अभियान, कानून निर्माण,  विपद् व्यवस्थापन, विकास निर्माणका कार्यहरू, लागु औषध दुर्व्यसनको नियन्त्रण, प्रदेश सरकारका योजना तथा कार्यक्रमहरूको कार्यान्वयनबाट प्राप्त उपलब्धिका विषयमा आमनागरिकलाई सुसूचित गराउने उद्देश्यले ‘प्रदेश डायरी’ रेडियो कार्यक्रम  प्रसारण गर्न लागिएको मन्त्रालयका उपसचिव सतिश सत्यालले बताउनुभयो ।

मन्त्रालयसँग भएको सम्झौता बमोजिम प्रदेश सरकार र मातहतका निकाय तथा कार्यालयहरूका गतिविधि, जनताको चासो, गुनासो र सार्वजनिक सरोकारका विषय समेटेर कार्यक्रम उत्पादन गरिने रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम विराटनगरका कार्यालय प्रमुख सूर्यनारायण लालकर्णले बताउनुभयो । 

सो कार्यक्रम सञ्चारग्राम विराटनगरमा सञ्चालित महानगर एफ.एम. १०३ मेगाहर्जबाट प्रत्येक बिहीबार ११ः३० बजे र रेडियो प्रादेशिक प्रसारण केन्द्र धनकुटाबाट सोही दिन दिउँसो ३ः३० बजे एफ.एम. ९८, १०० र १०३ मेगाहर्जबाट प्रसारण गरिने रेडियो नेपालका कार्यक्रम अधिकृत नयराज नेपालले जानकारी दिनुभयो ।  

सम्झौतामा मन्त्रालयका  तर्फबाट उपसचिव सतिश सत्याल, शाखा अधिकृत सौगात सम्बाहाङफे र सञ्चारग्रामको तर्फबाट कार्यालय प्रमुख सूर्यनारायण लालकर्ण र  कार्यक्रम अधिकृत नयराज नेपालले हस्ताक्षर गर्नुभयो । 

कार्यक्रममा मन्त्रालयका शाखा अधिकृत नारायण भण्डारी, सञ्चारग्रामका वरिष्ठ प्राविधिक अधिकृत बलराम चौधरी, प्रशासकीय अधिकृत रञ्जित रौनियार, वरिष्ठ कार्यक्रम सहायक बलराम दाहाल र लेखापाल निशा भण्डारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button