तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जमा लुम्बिनी कप राष्ट्रिय महिला फुटबल हुने

नेपालगन्ज । नेपालगन्जमा लुम्बिनी कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ । बाँके जिल्ला फुटबल सङ्घको सहकार्यमा अन्तरालले आगामी फागुन अन्तिम साता लुम्बिनी कप आयोजना गर्ने भएको हो ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बापो सुब्बाले संयुक्त रुपमा लुम्बिनी कपको लोगो सार्वजनिक गर्नुभएको छ ।

लुम्बिनी कप महिला फुटबलको लोगोमा शान्तिका अग्रदूत गौतम बुद्ध, महिला फुटबल खेलाडीको आकृति र नेपाली राष्ट्रिय झन्डाको निलो तथा सिम्रिक रातो रङ्ग समेटिएको छ ।

नेपालगन्ज रङ्गशालामा हुने लुम्बिनी कपमा नेपाल र भारतका ८ टिमको सहभागिता रहनेछ । महिला फुटबलको विकासमा प्रतियोगिता महत्वपूर्ण सावित हुने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनुभएको छ । पश्चिम नेपालको गौरवको रुपमा शुरु गर्न लागिएको लुम्बिनी कपलाई सफल पार्न सबैलाई सहकार्यका लागि शाहले अपिल गर्नुभएको छ ।

अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवं बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले प्रतियोगिताले महिला खेलाडीलाई नयाँ अवसर सिर्जना गर्ने बताउनुभयो । महिला फुटबलकी कप्तान सुब्बाले नेपालगन्जमा राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता हुनु खुसीको कुरा भएको बताउनुभयो । नेपाली महिला टिमकी पहिलो कप्तान सिंहले प्रतियोगिता सफलताको शुभकामना दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button