जनसरोकारका मुद्दामा लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यको चासो
रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनसरोकारका योजनाहरूको अनुगमन सुरु गर्नु भएको छ ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–७ र ८ मा रहेको बाणगंगा नदीमा भत्किएको पक्की पुल र चिस्यान केन्द्रको अनुगमन गर्नु भएको हो । संघीय सरकारको बजेटबाट करिब चार बर्ष अघि बाणगंगा नदीमा पक्की पुल बनेको थियो ।
निर्माण सम्पन्न भएको दुई वर्षको अवधिमा पुल भत्किएपछि आवागमन अवरुद्ध छ । कपिलवस्तु र अर्घाखाँची जिल्ला जोड्ने पुल भत्किएपछि समस्या परेको भन्दै स्थानीयहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । अनुगमनको क्रममा मुख्यमन्त्री आचार्यले पुल पुनः निर्माणको लागि प्रदेश सरकारले पहल लिने बताउनु भएको छ । ‘पक्की पुल बनेको तर, बनेको केही बर्ष भित्रै भत्किएको अवस्था रहेछ । संघीय सरकारको आयोजना भएकाले पुनः निर्माणको लागि संघीय सरकार समक्ष प्रदेश सरकारले पहल गर्छ’उहाँले भन्नुभयो,‘नागरिकहरूले दुःख पाउनु भएको छ । कसरी हुन्छ यहाँ पुनः पुलको काम अघि बढाउन जरुरी छ ।’
जहदी–कुपुवा–बनगाई–मोतिपुर–डोटेपुर सडक खण्ड अन्तरगत बाणगंगा नदीमा उक्त पुल बनेको थियो । मुख्यमन्त्री सहित भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल अनुगमनमा सहभागी हुनुहुन्थ्यो । यस्तै बाणगंगा नगरपालिका–७ मा निर्माणाधीन चिस्यान केन्द्रको पनि मुख्यमन्त्री आचार्यले अनुगमन गर्नु भएको छ । कृषि उपज सामाग्रीको सुरक्षित भण्डारणका लागि चिस्यान केन्द्र बनिरहेको हो । तर, अझैँ आयोजना सञ्चालनमा आउन सकेको छैन । चिस्यान केन्द्र निर्माणको काम सम्पन्न गरेर सेवा सुचारु गर्न मुख्यमन्त्री आचार्यले सम्बद्ध पक्षमा अनुरोध गर्नु भएको छ ।‘संरचना बन्ने तर, त्यो प्रयोगमा नआउने अवस्था छ । यस्तो अवस्था आउन दिनुहुँदैन । जहाँ लगानी हुन्छ, त्यसको पूर्ण सदुपयोगमा ध्यान दिनुपर्छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘प्रतिफल दिने आयोजनाहरूलाई अघि बढाउने प्रदेश सरकारको योजना छ ।’
प्रतिक्रिया राख्नुहोस्