उपनिर्वाचन अपडेट : ३२ जिल्लामा शान्तिपूर्ण निर्वाचन जारी
काठमाडौँ I स्थानीय तह उपनिर्वाचन अन्तर्गत ३२ जिल्लाका रिक्त विभिन्न ४१ पदका लागि आज बिहानैदेखि मतदान जारी छ ।
उपनिर्वाचन अन्तर्गत नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो ।
काठमाडौँ कीर्तिपुर नगरपालिकामा नगरप्रमुख र दुई वडाध्यक्षका लागि मतदान जारी रहेको छ ।
जाजरकोटको नलगाड उपमहानगरपालिकामा उपप्रमुख पदका लागि भइरहेको मतदानमा हाल सम्म ३ हजार ५ सय ५६ मत खसेको छ भने कुसे गाउँपालिका वडा नम्बर ७ को वडा अध्यक्ष पदका लागि भइरहेको मतदानमा ४ सय २८ मत खसेको छ ।
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा बिहान ७ बजेदेखि सुरु भएको मतदानमा १ हजार ४ सय जनाले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले बताउनुभयो । मतदान पक्रिया शान्तिपूर्ण तरिकाले भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्वामीकार्तिकले जनाएको छ ।
स्वामिकार्तिक खापर गाउँपालिकामा जम्मा मतदाता सङ्ख्या ७ हजार ४ सय ५८ रहेको छ ।
गुल्मीको मुसिकोट नगरपालिका १ मा वडाध्यक्ष पदको उपनिर्वाचनमा अहिलेसम्म ७ सय ३३ मत खसेको छ । तीनवटै मतदान स्थलका मतदान केन्द्रहरूमा शान्तिपूर्ण मतदान भइरहेको छ । वडा नं १ मा चार हजार ९१ मतदाता रहेका छन् ।
गोरखा नगरपालिका वडा नम्बर ५ मा जारी उपनिर्वाचनमा अहिलेसम्म २० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत शिव बहादुर रानाभाटले जानकारी दिनुभयो ।
दुई वटा मतदान स्थलमा तीनवटा केन्द्र रहेका छन् । जसमा कुल दुई हजार २ सय २५ मतदाता रहेको र शान्तिपूर्ण रुपमा मतदान भइरहेको गोरखास्थित हाम्रा संवाददाताले जनाएका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा हालसम्म ५ सयले मतदान गरेका छन् । उक्त वडामा ५ हजार ४ सय ३४ मतदाता रहेका छन् ।
उदयपुर जिल्लाको बेलका नगरपालिका ९ नम्बर वडाका मा ६ सय मत खसेको छ भने त्रियुगा नगरपालिकामा वडा नम्बर १२ मा ११ सय मत खसेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।
यस्तै बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ मा अहिलेसम्म ७ सय १२ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी उपनिर्वाचन भइरहेका अन्य विभिन्न स्थानीय तहमा पनि शान्तिपूर्ण रुपमा मतदान भइरहेको र मतदान स्थलमा आवश्यक मात्रमा सुरक्षाकर्मी परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्