तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री  शाहीद्वारा निर्माणाधीन मझगाउँ विमानस्थलको निरीक्षण 

कञ्चनपुर। नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसहितको टोलीले कञ्चनपुरमा निर्माणाधीन मझगाउँ विमानस्थलको निरीक्षण गरेको छ । 

शुक्रबार बिहान वन तथा वातावरण मन्त्री शाहीले विगत अढाई दशकदेखि बन्द अवस्थामा रहेको महेन्द्रनगर मझगाउँ विमानस्थलमा जारी पुनः निर्माण कार्यको बारेमा चासो देखाउँदै त्यसमा देखिएका बाधा अड्चनका बारेमा पनि जानकारी लिनु भएको हो । 

उहाँले पुनः निर्माण भइरहेको मझगाउँ विमानस्थलको अनुगमन गर्दै निर्माण कार्यमा देखिएका बाधा अड्चन फुकाउन अग्रसर रही समस्या समाधानको लागि आफू तत्पर रहने प्रतिबद्धता जनाउनु भयो । मन्त्री शाहीले नागरिक उड्डयन प्राधिकरणका महेन्द्रनगर विमानस्थल योजना प्रमुखलाई आफूसँगै काठमाडौँ आउन निर्देशनसमेत दिनु भयो ।

मन्त्री शाहीसँगै मन्त्रालय तथा निकुञ्ज विभागका पदाधिकारी, कञ्चनपुर जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहरा, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, भीमदत्त नगरपालिका १६ का वडाध्यक्ष केशवसिंह बिष्टसमेतले स्थलगत अनुगमन गर्नु भएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर मीन राज ओझाले जानकारी दिनुभयो । 

मन्त्री शाहीलाई मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका संयोजक पूर्व डीएफओ रमेश बहादुर चन्द, सचिव राजेन्द्र बहादुर चन्द, सदस्य सिद्धराज भट्ट, कञ्चनपुर होटेल व्यवसायी सङ्घका पूर्व अध्यक्ष एवम् पर्यटन व्यवसायी परमानन्द भण्डारी सहितले ध्यानाकर्षण पत्र बुझाउनु भएको छ । स्थानीय तह भीमदत्त नगरपालिकाको १५ प्रतिशत, दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत र सङ्घीय सरकार नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशत सह लगानीमा मझगाउँ विमानस्थलको पुनः निर्माण कार्य भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button