तपाईँ सुन्दै हुनुहुन्छः

एमाले विपद् व्यवस्थापन विभागद्वारा नागरिकलाई चिसोबाट बचाउने पूर्व तयारी गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तराई मधेस र देशभरका जिल्लाका नागरिकलाई चिसो मौसममा ठण्डीबाट बचाउने पूर्व तयारी गर्न आज ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा विभागका प्रमुख खिमलाल भट्टराईसहितको टोलीले जाडेको समयमा न्यानो कपडा र दाउराको अभावमा मधेस देशभरका विपन्न बस्ती र परिवारलाई बढी पीडा दिने गरेको सन्दर्भमा पूर्व तयारी गर्न आग्रह गरेको हो ।

ध्यानाकर्षण पत्रमा गत असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका साथै सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, सिन्धुलीलगायतका जिल्लामा धेरै बस्तीहरू डुबान र पहिरोमा परेकाले प्राकृतिक प्रकोपबाट उठीबास भएकाहरूलाई जाडो समयमा थप सुरक्षा प्रबन्ध गर्न राज्यका सम्बन्धित निकाय तथा संस्थाहरू लाग्नुपर्ने उल्लेख छ ।

प्रधानमन्त्री ओलीले उक्त ध्यानाकर्षण पत्रलाई गृह मन्त्रालयमार्फत सम्बन्धित निकायका सम्बोधनका लागि तत्काल पठाइने बताउनुहुँदै विपद्को पूर्व तयारी र विपद्पछिको खोज, उद्धारमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button